‘शरीरको तौल घटाउनका लागि पसिना आउने गरी शारीरिक कसरत गर्नुपर्छ, हिँडनु वा हौडिनुपर्छ ।’
यो हामीले धेरै सुन्दै आएको कुरा हो । यसअनुसार केही व्यक्तिहरूलाई लाग्छ कि पसिना धेरै आउनु भनेको शरीरमा भएको बोसो पग्लिनु हो र यसले तौल घटाउन मद्दत गर्छ ।
के यो कुरा सत्य हो त ? यसबारे बुझौं ?
सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा हो, पसिना आउनु भनेको बोसो शरीरको बोसो पग्लिनु होइन । पसिना आउनु भनेको शरीरलाई शीतल पार्ने एउटा प्राकृतिक प्रक्रिया हो । खानपानको तरिका उचित हुँदा, नियमित व्यायाम गर्दा र जीवनशैली सही तरिकाको हुँदा मात्रै शरीरको बोसो घट्छ ।
यदि हाम्रो शरीरलाई आवश्यक क्यालोरी र हामीले खाने क्यालोरीको मात्रा सन्तुलनमा राख्न सकियो भने हाम्रो तौल घट्न सक्छ । अनावश्यक क्यालोरी सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने गर्दा मात्रै तौल घटाउन सकिन्छ । धेरै मात्रामा पसिना निकाल्दैमा तौल घट्ने कुरा सत्य होइन।
तौल सही हुनका लागि पसिना उत्पादनको मात्रामा भन्दा पनि आफ्नो आहार र जीवनशैली सही राख्न ध्यान दिनु आवश्यक छ । यो लामो समयसम्म निरन्तर रहनुपर्छ ।
पसिना किन आउँछ ?
पसिना आउनु शरीरको प्राकृतिक शीतलक प्रणाली हो । जब शरीरको तापक्रम बढ्छ, पसिना ग्रन्थीहरूले पसिना निकाल्छन् । यो पसिनाले शरीरलाई शीतल बनाउँछ ।
कुन–कुन कारणले पसिना आउँछ ?
पसिना आउनुका धेरै कारणले हुन्छन् । मुख्य कारण त गर्मी मौसम तथा तातो वातावरण नै हो । अर्को कारण हामीले व्यायाम तथा परिश्रम गर्दा पसिना आउँछ । तातो, पिरो तथा मसलेदार खानेकुरा खाइरहेको छ भने पनि पसिना आउँछ । धेरै तनाव तथा डरको अवस्थामा पनि पसिना आउन सक्छ ।
थाइराइड हर्मोनको मात्रा बढी हुँदा अर्थात हाइपरथाइरोइडिज्मको समस्यामा पनि धेरै पसिना आउँछ ।
मानसिक रोगमा पर्योग हुने औषधिहरू जस्तै: एसएस ग्रुपका औषधिको सेवन गर्दा पनि धेरै पसिना आउन सक्छ ।
पोष्टमेनोपोजल सिन्ड्रोम अर्थात महिलाहरूमा महिनावारी सुकेपछि देखिने विभिन्न लक्षणमध्ये एक धेरै पसिना आउनु पनि हुन्छ ।
के पसिनाले बोसो पगाल्छ ?
पसिनामा प्रायः पानी र इलेक्ट्रोलाइटहरू हुन्छन् । यसमा बोसोको मात्रा हुँदैन । जब अत्यधिक पसिना आइरहेको हुन्छ तब हाम्रो शरीरले पानी गुमाइरहेको हुन्छ, बोसो होइन् ।
अत्यधिक पसिना आउनुको अर्थ शरीरले बढी बोसो जलाइरहेको छ भन्ने हुँदैन । अत्यधिक पसिनाले शरीरको तापक्रमलाई नियमित गर्न मद्दत गर्छ, बोसो हटाउन होइन । त्यसकारण, बोसो घटाउन पसिना आउनु जरूरी हुन्छ भन्ने होइन ।
बोसो घटाउने उपाय के हो त ?
यसका लागि क्यालोरी लसको तरिका अपनाउनु आवश्यक छ । यो भनेको शरीरलाई आवश्यक भन्दा कम क्यालोरी खानु हो । यसो हुँदा आवश्यक क्यालोरीका लागि शरीरले बोसो जलाउँछ ।
क्यालोरीको सेवन कम गर्नु र शरीरिक कसरत बढाउनु नै तौल घटाउने उपाय हो । हामीले खाने खानेकुराबाट जति क्यालोरी प्राप्त गरिरहेका हुन्छौं त्यो भन्दा बढी क्यालोरी खर्च गर्ने उपायहरू अपनाउँदा बोसो घट्छ । यस प्रक्रियामा, बोसो कार्बन डाइअक्साइड र पानीमा टुक्रिन्छ ।
प्रतिक्रिया 4