Comments Add Comment

सनसिटीभित्रका ५ सय १० परिवार त्रासमा, संक्रमितमा थिएन लक्षण

२ वैशाख काठमाडौं । पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै परिवारका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अपर्टामेन्टभित्र त्राश छाएको छ । त्यहाँ बस्ने ५ सय १० परिवारका करिब १५ सय जना अहिले कडा क्वारेन्टाइनमा छन् । अपार्टमेन्ट वरिपरीका बासिन्दा पनि घरबाट बाहिर निस्केका छैनन् ।

गत ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएका थिए । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् । उनीहरुमध्ये आमा र छोरामा कोभिड–१९ पुष्टि भएको छ । र्‍यापिड टेस्टमा बुहारीमा पनि पोजिटिभ देखाएको थियो तर, टेकु प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा नेगेटिभ देखियो ।

अपार्टमेन्टमा ५ वटा ब्लकहरू रहेका छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार बस्छन् । एउटा फ्ल्याटमा ६ वटा परिवार बस्छन् । ब्लकका सबैले साझा लिफ्ट प्रयोग गर्छन् ।

संक्रमित परिवार पछिल्ला दिनमा तल कम्पाउन्डमा ओर्लनुका साथै विभिन्न कामले गेटबाट बाहिर पनि निस्किने गरेको ‘ए’ ब्लकमै बस्ने एक महिलाले बताइन् । परिवारसँग एउटा कुकुर पनि थियो । परिवारका व्यक्तिहरुले कुकुर लिएर तल कम्पाउन्डमा डुलाउने पनि गर्थे ।

सरकारले लकडाउन घोषणा गरेपछि बाहिरी पाहुनालाई अपार्टमेन्टभित्र पस्न रोक लगाइएको थियो । तर, अपार्टमेन्टभित्रका व्यक्तिहरु भने दुध, पानी, तरकारीलगायत अत्यावश्यक वस्तुहरु खरिद गर्न मूलगेट बाहिर निस्किनुपर्थ्यो ।

हिजो रातिबाट भने कसैलाई पनि बाहिर निस्किन दिइएको छैन । अहिले अपार्टमेन्टभित्र स्यानिटाइज गर्ने काम भइरहेको छ । छतमा जाने बाटो पनि बन्द गरिएको छ । सबैजना आफ्नो कोठाबाट झ्यालबाट बाहिर नियालिरहेका छन् । अपार्टमेन्ट बाहिर सानो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

सोही अपार्टमेन्टमा बस्दै आएकी नायिका बेनिशा हमालले भनिन्, ‘यहाँ बस्नेहरू सबैजना मानसिक त्रासमा हुनुहुन्छ । तर, प्रहरी र स्थानीय तहले राम्रोसँग अनुगमन गरिरहनु भएको छ ।’

अपार्टमेन्ट सिल गरिएपछि यहाँभित्रका बासिन्दाहरू दैनिक उपभोग्य सामानहरुको आपूर्तिको पनि चिन्तामा छन् ।

यद्यपि, समितिले यसको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । भित्रबाट आवश्यक सामानका सुची टिपाउने, पसलवालाले मुल गेटमा ल्याएर राख्ने र त्यहाँबाट सबैले पालैपालो लैजाने गरि व्यवस्था मिलाउन छलफल भइरहेको समितिका एक सदस्यले बताए । जारको पानी भने भित्रैबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

सरकारको निर्देशन विपरीत चुनाव

गत ८ गते अपार्टमेन्टभित्रै वेलफेयर कमिटीको चुनाव गरिएको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले ५ चैतमै २५ जनाभन्दा बढि भेला हुन रोक लगाएको थियो । अर्थात चुनाव सरकारको निर्देशन विपरीत थियो ।

बेलायतबाट आएका संक्रमित परिवारका सदस्य चुनावमा सहभागी थिए वा थिएनन् भन्ने एकिन हुन सकेको छैन ।

व्यवस्थापन समितिका अध्यक्ष तिलक बस्नेतसँग यस विषयमा प्रश्न गर्दा उनले केही बताउन चाहेनन् । ‘अहिले यहाँको अवस्था सामान्य छ, म मिटिङमा व्यस्त छु,’ उनले यति भनेर फोन काटे ।

अपार्टमेन्ट परिसरमा छुट्टै चार तल्लाको भवन छ । सोही भवनभित्र रहेको सामुदायिक हलमा साधारणसभा तथा चुनाव भएको हो । बाहिर चर्चा भएजस्तो अर्थमन्त्री डा. युवराज खतिवडा भने त्यहाँ आएका थिएनन् । सोही अपार्टमेन्टमा बस्ने उनका छोरा तिलक खतिवडा चाहिँ चुनावमा उम्मेदवार भएर सचिवमा निर्वाचित भएका थिए । एउटा बैंकमा काम गर्ने उनी ‘बी’ ब्लकमा बस्छन् ।

संक्रमितमा थिएन लक्षण

कागेश्वरी मनोहरा नगरपालिकाले केही दिनदेखि विदेशबाट आएर आफ्नो नगरपालिकामा बसिरहेकाहरु कोरोना परीक्षणका लागि आउन सुचित गरेको थियो । सो नगरपालिकामा यस्ता ५६ जना व्यक्तिहरु रहेको पत्ता लागेको थियो ।

नगरप्रमुख कृष्णहरि थापाका अनुसार सनसिटी अपार्टमेन्टमा पनि विदेशबाट आएकाहरू भएमा परीक्षणका लागि आउन खबर गरियो । नगरपालिकाले सोमबारबाट परीक्षा सुरु गर्‍यो । तीन ठाउँमा प्वाइन्ट बनाएर परीक्षण गरिएको थापाले जानकारी दिए ।

‘हामीले आफ्नै पहलमा तीन जना स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वास्थ्य मन्त्रालयबाट टेस्ट किट ल्याएर परीक्षण गराएका हौं,’ उनले भने, ‘त्यसमा सनसिटी अपार्टमेन्टमा बस्ने पाँच जनासहित ६१ जनाले नाम लेखाउनुभएको छ ।’

६१ जनामध्ये हिजो तीन स्थानमा ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संक्रमित परिवारका तीन जना परीक्षणका लागि मुलपानी नगर अस्पतालमा आएका थिए । नगरप्रमुख थापाका अनुसार अस्पताल आउँदा तीनैजना सामान्य अवस्थामा थिए ।

‘मैले स्वास्थ्यकर्मीबाट पाएको जानकारी अनुसार तीनैजनामा कोरोनाको लक्षण देखिएको थिएन । तर उनीहरुको परीक्षण पोजिटिभ आएपछि हामीले टेकु अस्पतालमा खबर गरेका हौं । त्यहाँबाट उनीहरुलाई प्रहरीको सहयोगमा पाटन अस्पताल लगिएको हो,’ उनले भने ।

र्‍यापिड टेस्टको रिपोर्ट आउन करिब १५ मिनेट लाग्छ । त्यसैले तीनजना रिपोर्ट नआउञ्जेल त्यहीँ पर्खेर बसेका थिए । रिपोर्टमा पोजिटिभ देखिएपछि उनीहरु अपार्टमेन्ट फर्किन पाएनन् ।

विदेशबाट आएर बसेका बाँकी २५ जनाको आज परीक्षण गरिरहेको नगरप्रमुख थापाले जानकारी दिएका छन् । यता, सनसिटीमा बस्ने सबैजनाको कोरोना परीक्षण गर्ने तयारी पनि भइरहेको छ ।

‘अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने कुरा मन्त्रालयबाट आएको छ । साथै, उनीहरु यो बीचमा कहाँ–कहाँ गए र कोको मानिसहरु भेटिए भन्ने पनि ट्रेसिङ गर्नुपर्ने अवस्था छ । नगरपालिकाको मात्रै स्रोत साधनले भ्याउँदैन । केन्द्र सरकारसँग समन्वय गर्छौं,’ उनले भने ।

कहाँ भयो संक्रमण ?

संक्रमित व्यक्तिहरु बेलायतबाट दोहा हुँदै चैत ५ गते राति १ बजेतिर नेपाल ल्यान्ड भएका थिए । अपार्टमेन्टभित्र कतिपय एउटै ब्लकमा बस्नेहरुबीच पनि चिनापर्ची हुँदैन । विदेशबाट आएको परिवारको विषयमा भित्र गाईंगुईं भए पनि त्यति धेरै चर्चा थिएन ।

अपार्टमेन्टमा आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेको संक्रमितहरूले बताएका छन् । १४ दिनको कोर्स पुरा गरेपछि उनीहरू तल कम्पाउन्डमा र गेटबाहिर निस्किन थालेका थिए ।

स्मरणीय के छ भने यो परिवार बेलायतबाट फर्केको झण्डै करिब एक महिना भयो । कोरोना संक्रमण भएमा त्यसको लक्षण २ देखि १४ दिनमा देखिने विश्वास गरिन्छ । कहिलेकाहीँ १ दिनसम्म लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।

कतिपय केसहरूमा चाहिँ संक्रमणको लक्षण नै देखिँदैन । यस्तो अवस्थामा संक्रमण फैलिनसक्ने जोखिम बढि हुन्छ । नगरपालिकाले र्‍यापिड टेस्टका लागि नबोलाएका भए यो परिवारको संक्रमण अझै बाहिर आउने थिएन ।

१४ दिनभित्र संक्रमणको लक्षण देखिन्छ भन्ने विश्वासका कारण पछिल्ला दिनमा काठमाडौंलाई कोरोनाबाट सुरक्षित रहेको मान्न थालिएको थियो । किनकी नेपालले अन्तर्राष्ट्रिय उडान रोकेको र देशभित्र लकडाउन गरेको नै तीन हप्ता भइसक्यो । तर, यो केसले फेरि नयाँ उल्झन थपिदिएको छ ।

सनसिटी अपार्टमेन्टमा बस्ने कांग्रेस नेता रमेश रिजालले चाँडो भन्दा चाँडो अपार्टमेन्टभित्र सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । उनले भने, ‘अहिले यहाँभित्र सबैलाई संक्रमणको त्राश छ । छिटो परीक्षणको व्यवस्था मिलाएर उहाँहरुलाई आस्वस्त पार्नुपर्छ ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो पनि पढ्नुहोस चैत ५ मा नेपाल आएका थिए काठमाडौंका नयाँ संक्रमित, यात्रुको सूची खोज्दै प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment