Comments Add Comment

साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

इटाली र स्विट्जरल्याण्डबाट पनि नेपालीहरु स्वेदश फर्किन इच्छुक

३ वैशाख, बार्सिलोना । महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् ।

राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको महामारीसँगै गरिएको लकडाउनले उनलाई साइप्रसमा टिक्न सकिँदैन कि जस्तो लागेको छ । त्यसैले साइप्रसमा तनाव लिँदै बस्नुभन्दा तत्काल नेपाल फर्कन चाहान्छन् उनी ।

‘न काम छ, न पढाइ । खानाबस्न नै समस्या भएपछि घर फर्कनुको विकल्प छैन । एक महिना अझै लकडाउन लम्बिने हो भने यहाँको अबस्थाबारे कल्पना पनि गर्न सकिँदैन । त्योभन्दा बरु तत्काल घर फर्कन पाए राम्रो हुन्थ्यो,’ मोक्तानले अनलाइनखबरसँग भने ।

मोक्तानमात्र हैन अध्ययनका लागि साइप्रस आएका झण्डै ५ देखि ७ हजार विद्यार्थीहरुलाई अहिले खानबस्न नै समस्या देखिएको छ । त्यसैले ठूलो संख्यामा नेपाली विद्यार्थीहरुले घर फर्कने इच्छा व्यक्त गरेको एनआरएनए साइप्रसले जनाएको छ ।

लकडाउनका कारण बेरोजगार बनेपछि उनीहरुलाई समस्या परेको हो । दैनिकजसो विद्यार्थीहरुले आफूलाई सम्पर्क गरेर नेपाल फर्कने इच्छा ब्यक्त गरेको त्यहाँस्थित पत्रकार दिनेश गौतमले बताए ।

एनआरएनए साइप्रसका प्रवक्तासमेत रहेका गौतमले भने, ‘मलाई २५-३० जना विद्यार्थीहरुले नै म्यासेज गरेर दूतावासमार्फत घर फर्काउन जहाजको व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।’

‘रुसले, भारतले पनि साइप्रसबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेको छ । नेपालीहरुले देश फर्कन चाहान्छु भन्दै दूतावासमा सम्पर्क गरेका छन् । तर सरकार किन गम्भीर देखिँदैन ?’ गौतमले प्रश्न गरे ।

यो पनि पढ्नुहोस अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

कतिपय विद्यार्थीहरु मानसिक तनावमा रहेको उनले सुनाए । उनीहरुलाई घर फर्काइदिन अभिभावकहरुले दैनिकजसो फोन गरेर अनुरोध गरेका छन् ।

दूतावास भन्छ- परराष्ट्रमन्त्रीलाई जानकारी गराएका छौं

साइप्रसलाई समेत हेर्दै आएको इजरायलस्थित नेपाली दूतावासले विद्यार्थीहरुलाई परेको समस्या र भयावह अवस्थाबारे परराष्ट्रमन्त्रीलाई भिडियो कन्फरेन्समार्फत नै जानकारी दिइसकेको जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख अर्जुन घिमिरेले आफूहरुले यहाँको विकसित परिस्थितिबारे परराष्ट्र मन्त्रालयलाई दैनिकरुपमा प्रतिवेदन पेश गर्ने गरेको अनलाइनखबरलाई बताए । ‘प्रत्येक दिन हामीले यी सबै कुराहरुलाई समेटिरहेका हुन्छौं । ३० देखि ४० को संख्यामा साइप्रसबाट र त्यति नै संख्यामा इजरायलबाट पनि नेपाल फिर्ता हुन चाहनुभएको छ,’ घिमिरेले भने ।

उनले नेपाल सरकारले तत्कालै कदम चालिहाल्छ भन्ने आफूलाई नलागेको तर बढी नै समस्या देखिएमा भने उद्धार सुरु गर्ला भन्ने विश्वास रहेको उनले बताए ।

यता केही विद्यार्थीहरुले नेपालबाटै रकम मगाएर भए पनि गाँस जुटाएका छन् । तर कतिपय विद्यार्थीहरुलाई नेपालबाट पैसा मगाउन समेत कागजी समस्या देखिएको थियो । यद्यपि त्यो समस्या समाधान गरिसकेको दूतावासले जनाएको छ ।

‘राजदूताबासको सक्रियतामा राष्ट्र बैंकबाट एनओंसी विना पनि न्युनतम रकम प्राप्त हुने व्यवस्था मिलाएका छौं । खासगरी एनओंसी नभएकाहरुको समस्या देखिएको थियो, तर अहिले समाधान भएको छ,’ उपनियोग प्रमुख घिमिरेले भने ।

साइप्रसमा नेपालीको अनुभव

साइप्रसमा झण्डै १२ देखि १५ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ । तीमध्ये अध्ययनका अलावा घरेलु कामका लागि आएका नेपालीहरुको संख्या करिब ७ हजार रहेको बताइन्छ ।

राजेन्द्रले भन्छन् – म त दुई हात जोडेर विनम्र अनुरोध गर्दछु । यो साइप्रसमा पढ्न आउनु भनेको जालमा माछा फस्नु जस्तै हो । त्यसमाथि झन् कोभिड-१९ पनि थपियो

रोजगारीकै सिलसिलामा आएका समिम मियाले कतिपय कामदारहरुले अहिले १७ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको सुनाए । उनले भने, ‘घरको काम गर्ने धेरै संख्यामा दिदीबहिनीहरु नै हुनुहुन्छ । रोजगारदाता र उसको सम्पूर्ण परिवार घरमा हुने हुँदा पहिलेभन्दा दोब्बर, तेब्बर कामको भार परेको उहाँहरुको पनि गुनासो छ ।’

साइप्रसमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई टिक्न गाह्रो हुने गरेको अनुभव कतिपय विद्यार्थीहरुको छ ।

स्वदेश फर्किन आतुर राजेन्द्रकुमार मोक्तानले कोभिड-१९ को महामारी सुरु हुुनु अगाडि पनि साइप्रसमा विद्यार्थीहरुलाई समस्या रहेको, तर अहिले झनै विकराल अवस्था रहेको सुनाए ।

‘अलिअलि कमाइ होला । युरोप घुमिएला भनेर आइयो, तर सेन्जेनबिनाको युरोप भन्ने त नेपाल मै थाहा थियो । धेरै बुझेर पनि विदेशप्रतिको मोह जाग्यो । म त दुई हात जोडेर विनम्र अनुरोध गर्दछु । यो साइप्रसमा पढ्न आउनु भनेको जालमा माछा फस्नु जस्तै हो । त्यसमाथि झन् कोभिड-१९ पनि थपियो,’ उनले भने ।

एनआरएनको सहयोग

साइप्रसमा हालसम्म कुनै पनि नेपालीलाई कोरोना संक्रमण पुष्टि भने भएको छैन । तर लकडाउनको अवस्था लम्बिदै जाने हो भने विद्यार्थीहरु ठूलो संकट पर्ने देखिन्छ । तत्कालको समस्या टार्न एनआरएनए साइप्रसले अहिले नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेर सहयोग गरिरहेको संघका महासचिव कृप थापाले जानकारी दिए ।

यसैबीच इटाली र स्विट्जरल्याण्डबाट पनि केही नेपाली विद्यार्थीहरु घर फर्कन इच्छुक देखिएको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यता युरोपेली दूतावासहरुले भने ट्रेकिङको क्रममा नेपालमा फसेका आफ्ना नागरिकहरुलाई चार्टर उडान गरी स्वदेश फर्काइसकेका छन् ।

यसअघि नेपाल सरकारले चीनको हुबेई प्रान्तस्थित बुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई हवाईजहाज चार्टर्ड गरेको उद्धार गरेको थियो ।

धनाड्यका छोराछोरीलाई विदेशबाट जहाज चार्टर्ड गरेर उद्धार गर्ने, तर गरिबका छोराछोरी भारतबाट आफैं स्वदेश फर्किन खोज्दा सीमा नाकामा रोक्ने भन्दै कतिपयले सरकारको विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment