Comments Add Comment

खडेरीपीडित किसानलाई मकैको बीउ

३ वैशाख, खोटाङ। गत वर्षको खडेरीपीडित किसानलाई हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले मकैको बीउ वितरण सुरु गरेको छ । गत वर्ष भएको लामो समयको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवासमेत खडेरीले मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ वितरण शुरु गरिएको हो ।

खडेरीका कारण मकैको बीउविहीन बनेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ प्रतिघर चार केजीका दरले वितरण शुरु गरिएको नगरप्रमुख इवन राईले बताए । ‘खडेरीका कारण मकैको बीउ मासिएको क्षेत्र, आवश्यक पर्ने बीउको परिमाण र बीउ खरिदका लागि आवश्यक बजेट निकासाका लागि माग गर्न ११ वटै वडा कार्यालयलाई पत्राचार गरिएको थियो’, उनले भने, ‘बीउ नै मासिएपछि समस्यामा परेका किसानलाई ध्यानमा राखेर वडा कार्यालयको मागको आधारमा नगरपालिकाको तर्फबाट निःशुल्क मकैको बीउ वितरण शुरु गरिएको हो ।’

जिल्लाको प्रमुख बालीका रुपमा लगाइने मकै छर्ने बेला सुरुभएको अवस्थामा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरीपीडित किसानलाई निःशुल्क वितरण शुरु गरेपछि किसानसमेत हर्षित बनेका छन् । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ किसानलाई वितरण शुरु गरिएको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, मङ्गलटार, दुर्छिम, सल्ले, राजापानी, अर्खौलेलगायत ११ वटै वडामा गत वर्षको वैशाख र जेठमा छरेको मकैको बिरुवा लामो समयको खडेरीले सुकेर सोत्तर भएको थियो । खडेरीका कारण कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् ।

जिल्लामा मकै छर्ने सिजन गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरेका थिए । तर, बेमौसममा छरिएको मकैको बीउ उम्रिए पनि उत्पादन भने नदिएको किसानहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment