Comments Add Comment

क्वारेन्टाइनस्थल बन्यो उपचार केन्द्र र हिरासत

४ वैशाख, जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन शंकास्पद व्यक्तिलाई राख्न अहिले देशैभरि क्वारेन्टाइनस्थल बनाइएको छ । कतै सामुदायिक भवनलाई त कतै विद्यालय त कतै सामुदायिक भवनलाई क्वारेन्टाइनस्थल बनाइएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका–७ स्थित रामजानकी आधारभूत विद्यालयलाई पनि क्वारेन्टाइन बनाइएको छ । तर, यहाँ अहिलेसम्म कोरोना आशंकित व्यक्ति आएका छैनन् । ‘क्वारेन्टाइन बनाएदेखि हालसम्म कुनै आशंकित व्यक्ति आएका छैनन्’ वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले भने, “तर कोही नआउँदैमा हामीले आफ्नो व्यवस्थापनलाई खेर जान दिएका छैनौं ।’

यो क्वारेन्टाइनस्थललाई प्राथमिक उपचार केन्द्र बनाइएको छ । सामान्य रुघाखोकी, ज्वरोदेखि पेट सम्बन्धी गडबडीदेखि सामान्य रोगको उपचार यहाँ थालिएको छ । वडा अध्यक्ष साहका अनुसार क्वारेन्टाइनमा रहेका चिकित्सक, स्वास्थ्यकर्मीले बिरामीको जाँच गर्दै आएको बताए ।

अहिले दैनिक ५ देखि ७ जना यहाँ आएर सामान्य रोगको जाँच गराइरहेको वडा अध्यक्ष साहले बताए । उनले जाँचसँगै औषधिसमेत निःशुल्क वितरण गरिरहेको जानकारी दिए । वडाभित्र रहेका औषधि पसल र केही सहयोगीले सामान्य रोगका औषधिहरु उपलब्ध गराएको उनले बताए ।

जहाँ हिरासत बनाइयो

सप्तरीको बोदे बर्साइन नगरपालिकामा बनाइएको क्वारेन्टाइनलाई भने हिरासतको रुपमा प्रयोग गर्न थालिएको छ ।नगरपालिकाको वडा नम्बर ५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयमा कोराना आशंकित ४२ जना घर फर्केका छन् ।

यहाँ २ महिलासहित ४१ जनालाई राखिएको थियो । आशंकित १३ जनाको ¥यापिड परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि सबैलाई घर फर्काइएको छ ।

क्वारेन्टाइन खाली भएपछि यहाँ लागूऔषधसहित पक्राउ परेका एक युवकलाई राखिएको छ । बुधबार भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सप्तरीकै खड्क नगरपालिका ९ का १८ बर्षीय मोहम्द अडिजलाई राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले अडिजलाई बोदे बर्साइन ९ देउरीस्थित सुवर्णपट्टीबाट ३ बोतल डाईलेक्स र ३ पत्ता नाईट्रोभेट ट्याब्लेटसहित बुधबार पक्राउ गरिएको थियो ।

उनलाई बुधबार साँझदेखि नै क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइनका इन्चार्जसमेत रहेका स्वास्थ्य चौकी बोदे बर्साइन प्रमुख ऐयुव राइनले बताए । ‘प्रहरीले ती युवकको स्वाब परीक्षणबिना हिरासतमा राख्न नसकिने बताउँदै यहीं राखेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment