Comments Add Comment

श्रमिकलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिने सहमति

७ वैशाख, काठमाडौं । औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई लकडाउन अवधिको पारिश्रमिक दिन निजी क्षेत्र र श्रमिकहरूको छाता संगठन र सरकारबीच सहमति भएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार मन्त्रालयमा भएको छलफलमा यस्तो समझदारी बनेको मन्त्रालयकी सहायक प्रवक्ता एवम् उपसचिव उर्मिला केसीले जानकारी दिईन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधिहरू बैठकमा सहभागी भएको मन्त्रालले जनाएको छ । यस्तै, बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशीलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल पनि गठन गरेको छ ।

मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुख सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा कृषि तथा पशुपन्छी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र उद्योगका छाता संगठनका प्रतिनिधिसहितको कार्यदल गठन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

कार्यदललाई १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समय दिएको मन्त्रालयले जनाएको छ । बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरू सञ्चालनका लागि सम्पूर्ण उद्योगहरूलाई तीन चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment