Comments Add Comment

पार्टी फुट्दैन, एकताको बाँकी काम लकडाउनपछि पूरा गर्छौँ : महतो

११ वैशाख, काठमाडौं । ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।

बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरूसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवनरक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवनरक्षा गर्नुपर्‍यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौँ ।’

उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरूको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

यो एकताबाट पार्टीका कतिपय नेताहरू असन्तुष्ट रहेको र उनीहरूले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे । महतोले पत्रकारहरूसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन । सबै सम्मानजनक एकता गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment