Comments Add Comment

‘कैदीबन्दीमा कोरोना नभएको पुष्टि भएपछि मात्रै अदालतमा ल्याउनू’

११ वैशाख, गुल्मी । गुल्मी जिल्ला अदालतले हिरासतमा भएका कैदीबन्दीहरूमा कोरोना भाइरस संक्रमण भए-नभएको यकिन गरेर मात्रै अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय अनिल कुँवर र अर्जुन कुमाल तथा बलात्कार मुद्दामा हिरासतमा रहेका २० वर्षीय प्रेम बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले अदालतमा उपस्थित गराउने तयारी गरेको थियो । तर, अदालतले स्वास्थ्य परीक्षण गरेर कोरोना नभएको पुष्टि भएपछि मात्रै अदालतमा उपस्थित गराउन भनेको हो ।

मदाने गाउँपालिका-४ का कुँवर विदेशबाट आएका थिए । यदि कुँवर संक्रमित भएको भए उनीसँगै हिरासतमा रहेका अन्यलाई पनि कोरोना सर्न सक्ने भएकाले पीसीआर टेस्ट गरेर कोरोना भए-नभएको यकिन गर्न प्रहरीलाई भनिएको अदालतका श्रेस्तेदार कृष्णशरण लामिछानेले जानकारी दिए ।

‘गुरुङ र कुँवरको र्‍यापिड टेस्ट मात्रै भएकाले पीसीआर टेस्टसमेत गराउन र त्यो बेलासम्म प्रहरीकै सुरक्षामा राख्न भनिएको छ,’ अदालतका सूचना अधिकारीसमेत रहेका लामिछानेले भने ।

उनले प्रतिवादीको कोरोना परीक्षणको पुष्टि गरेर मात्रै अभियोजन पत्र ग्रहण गर्न चैत ७ गते सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारबाट समेत निर्देशन भएको र कागागारको जोखिम बुझेर त्यस्तो आदेश गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा कर्तव्य ज्यान मुद्दामा रहेका कुँवर गत चैत ४ गते एयर अरेबियाको जहाज चढेर नेपाल आएका थिए । उनी वैशाख ५ गते प्रेमिकाको हत्या गरेको आरोपमा पक्राउ परेका थिए ।

अदालतले कर्तव्य ज्यान मुद्दामा रहेका इस्मा गाउँपालिका वडा नम्बर-२ का अर्जुन कुमालको पनि कोराना परीक्षण गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment