Comments Add Comment

महाभूकम्प गएकै दिन रानीपोखरी उद्घाटन गर्ने योजना अधुरै

१२ वैशाख, काठमाडौं । भूकम्प गएको पाँच वर्षपछि आज अर्थात् वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो ।

भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य लकडाउनको कारण पूरा हुन सकेन । ०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीलाई मल्लकालीन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण भइरहेको रानीपोखरीमा आमसर्वसाधारणले भूकम्प अगाडि जस्तै पानीले भरिभराउ पोखरी देख्न सकिने विश्वास लिएका थिए।

यतिबेला कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको त्रास नभएको भए भूकम्पले पूर्णक्षति पुगेको रानीपोखरीले नयाँ स्वरुप पाउने थियो । लकडाउनका कारण रानीपोखरीको पुनर्निर्माणले पूर्णता पाउन नसकेको प्राधिकरणको भनाइ छ । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरी भूकम्प गएकै दिन उद्घाटन गर्ने प्राधिकरणको योजना अधुरै रहेको छ ।

लकडाउनकै अवधिमा रानीपोखरी पुनर्निर्माणको बाँकी काम गर्ने कि नगर्ने भन्ने विषयमा कम्पनी र सम्पदा विज्ञहरूसँग छलफल भइरहेको उनले बताए । कामदारहरूलाई क्वारेन्टाइनमा राखेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर सनमले सुनाए

लकडाउन सुरु हुनु अघिल्लो दिनसम्म रानीपोखरीमा कामदारहरू बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण र पोखरीको निर्माणमा खटिरहेका थिए ।

केही कामदारहरू पोखरीमा इँटा बिछ्याउने, माटो बोक्नेदेखि गाह्रो लगाउने काममा व्यस्त थिए । उनीहरू वैशाख पहिलो साताभित्र काम सकेर पोखरीमा पानी भरिसक्नुपर्ने दबाबले काम गरिरहेका थिए ।

पोखरीमा इँटा ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरीमा पानी भर्नका लागि दुई किनारमा दुई सय मिटर गहिरो बोरिङ समेत खन्ने काम भइसकेको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण पूरा हुनेबित्तिकै पानी भर्ने योजना बनाइएको थियो । माघको अन्तिम साताभित्रै पोखरीमा पानी भर्ने लक्ष्य राखिएको थियो । तर, चैत ११ गतेदेखि लकडाउन भएपछि काम अघि बढ्न सकेन ।

अघिकांश कामदार आफ्नै गाउँ गइसकेका छन् भने घर जान नचाहने भने त्यहीँ टहरो हालेर बसेका छन् । सीए तुलसी कन्सन्ट्रन्सनका साइट इन्जिनियर सनम श्रेष्ठले भने, ‘मन्दिरको काम भखरै सुरु भएको थियो । त्यसपछि रोकिएको छ । केही कामदार त्यहीँ बस्नुभएको छ । उहाँहरूले नै निर्माणस्थलको रेखदेख गरिरहनु भएको छ ।’

लकडाउनकै अवधिमा रानीपोखरी पुनर्निर्माणको बाँकी काम गर्ने कि नगर्ने भन्ने विषयमा कम्पनी र सम्पदा विज्ञहरूसँग छलफल भइरहेको उनले बताए । कामदारहरूलाई क्वारेन्टाइनमा राखेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर सनमले सुनाए ।

साइट इन्जिनियर श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले कामदारहरूलाई काममा लगाउनको लागि पासको व्यवस्था गरिसकिएको छ । कामदारहरूले काम गर्न मञ्जुर भए शनिबारदेखि काममा लगाउने योजना छ । कामदारहरू कीर्तिपुरकै भएकाले खासै समस्या नहुने उनको भनाइ छ ।

प्राधिकरणका अनुसार लकडाउनपछि काम अघि बढाउने विषयमा सरोकार पक्षसँग छलफल  भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना संक्रमणका कारण रानीपोखरीको पुनर्निर्माण मात्र नभई समग्र पुननिर्माणको क्षेत्र प्रभावित पारेको बताएको छ । प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले लकडाउनपछि पुनर्निर्माणमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘यो लकडाउन कसरी अगाडि बढ्छ त्यहीअनुसार पुनर्निर्माणको काम अगाडि बढ्छ । हामीले त्यसको लागि आगामी वर्षको कार्ययोजनाहरू तयार पार्दैछौँ ।’

विवादमै बित्यो ४ वर्ष

ऐतिहासिक सम्पदा ०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण कसले गर्ने भन्ने टुंगो लागेको थिएन । भूकम्प गएकै वर्ष माघ २ गते प्रथम पटक निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनर्निर्माण एक वर्षभित्र पूरा हुने भन्दै उद्घाटन गरेकी थिइन् । तर पुनर्निर्माणको जिम्मा कसलाई दिने टुंगो नहुँदा उद्घाटन गरेको १ वर्षसम्म काम अगाडि बढ्न सकेन ।

सरकारले रानीपोखरीको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । तर, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा काम अगाडि बढ्न सकेन ।

महानगरले पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेको भन्दै पुरातत्व विभागले काममा रोक लगाएको थियो । यसबीचमा रानीपोखरीकै लागि भनेर झण्डै दुई करोड बजेट सकिएको थियो । तर, काममा भने प्रगति हुन सकेन ।

त्यसपछि सरकारले ०७५ माघमा रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । लगत्तै प्राधिकरणले पोखरीको पुनर्निर्माणको लागि उपभोक्ता समिति र बालगोपालेश्वरको मन्दिरको पुनर्निर्माण टेन्डरमार्फत् सीए तुलसी कन्सन्ट्रक्सनलाई दिएको थियो ।

स्थानीय उपभोक्ता समितिले पोखरीमा माटो बिछ्याउने पर्खाल लगाउने, इँटा बिछ्याउने, पोखरीमा पानी भर्ने काम पाएको छ । जसअन्तर्गत यी कामहरू अन्तिम चरणमा पुगिसकेको छ ।

सीए तुलसी कन्सन्ट्रसनले बालगोपालेश्वर मन्दिर जाने पुल, बगैँचाको सौन्दर्यीकरण र मन्दिर निर्माणको जिम्मा पाएको छ । हाल पुलको काम सकिएको छ भने मन्दिरको काम सुरु भएको छ । बगैँचाको काम भने सुरु भएको छैन ।

यो पनि पढ्नुहोस यस्तो बन्नेछ रानीपोखरी, तयार भयो फाइनल डिजाइन (ग्राफिक्ससहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment