११ मंसिर, काठमाडौं । रूसले सोभियत सङ्घ विघटन भएयताकै सबैभन्दा ठूलो रक्षा बजेट पेस गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनाका लागि करिब ५० ट्रिलियन रूबल अर्थात् करिब ८६४ खर्ब नेपाली रुपैयाँ खर्च गर्नेछ।
यस हिसाबले रूसले हरेक वर्ष औसतमा २८८ खर्ब नेपाली रुपैयाँ सेनामा खर्च गर्नेछ।
कुल बजेटको ३५ प्रतिशत हिस्सा सेनामा खर्च
बजेटअनुसार सन् २०२७ मा रूसी सरकारले गर्ने कुल खर्चको करिब ३५.२ प्रतिशत हिस्सा सेना र रक्षा क्षेत्रमा मात्र विनियोजन हुनेछ। अर्थात्, सरकारले खर्च गर्ने हरेक १०० रूबलमध्ये करिब ३५ रूबल सेनामा खर्च गरिनेछ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२७ मा रूसले सेनामा १७.१५ ट्रिलियन रूबल (करिब ३१७ खर्ब ४४ अर्ब नेपाली रुपैयाँ) खर्च गर्नेछ। यो रकम सन् २०२६ का लागि तय गरिएको १२.९३ ट्रिलियन रूबल (करिब २३९ खर्ब २० अर्ब नेपाली रुपैयाँ) को तुलनामा ३३ प्रतिशत बढी हो।
त्यसपछि सन् २०२८ र २०२९ मा रक्षा खर्चमा सामान्य कमी आउने अनुमान गरिए पनि त्यो विगतको तुलनामा निकै उच्च रहनेछ :
- सन् २०२८ : १६.६१ ट्रिलियन रूबल (करिब ३०७ खर्ब ३६ अर्ब नेपाली रुपैयाँ)
- सन् २०२९ : १६.३० ट्रिलियन रूबल (करिब ३०१ खर्ब ६० अर्ब नेपाली रुपैयाँ)
युद्धमा रूसले खर्च गर्यो १ हजार ७९ खर्ब रुपैयाँ
रूसले नयाँ बजेटमा आगामी तीन वर्षका लागि रक्षा खर्च उल्लेख्य रूपमा बढाएको छ। यसअघि सन् २०२७ का लागि तोकिएको बजेटमा करिब ३.५८ ट्रिलियन रूबल (करिब ६६ खर्ब २४ अर्ब नेपाली रुपैयाँ) वृद्धि गरिएको छ। त्यस्तै, सन् २०२८ को बजेटमा पनि करिब ३.५६ ट्रिलियन रूबल (करिब ६५ खर्ब ७६ अर्ब नेपाली रुपैयाँ) थपिएको छ।
रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यतिबेलादेखि हालसम्म यस युद्धमा रूसले विशाल धनराशि खर्च गरिसकेको छ। जर्मनीको इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्सका अनुसन्धानकर्ता जेनिस क्लुगका अनुसार युक्रेन युद्ध सुरु भएयता रूसले सेनामा करिब ५८.३ ट्रिलियन रूबल अर्थात् करिब १ हजार ७९ खर्ब २० अर्ब नेपाली रुपैयाँ खर्च गरिसकेको छ।
यदि रूसले आगामी तीन वर्षका लागि तय गरिएको सम्पूर्ण रक्षा बजेट खर्च गर्यो भने युद्ध सुरु भएदेखि सन् २०२९ सम्ममा उसको कुल सैन्य खर्च १०८ ट्रिलियन रूबल अर्थात् करिब १ हजार ९९१ खर्ब २० अर्ब नेपाली रुपैयाँ पुग्नेछ।
यसमा सरकारले सार्वजनिक गरेको खर्चका साथै गोप्य राखिएको रकमसमेत समावेश छ। यद्यपि, रूसको वास्तविक सैन्य खर्च योभन्दा अझै बढी हुन सक्छ, किनकि सेनासँग सम्बन्धित कतिपय खर्च सरकारले अन्य विभागका बजेटमा समेत देखाउने गरेको छ।
स्वास्थ्य र पेन्सनको बजेट कटौती
एकातिर रूसी सरकारले सेनामा बजेट बढाइरहेको छ भने अर्कोतिर सर्वसाधारणसँग जोडिएका थुप्रै अत्यावश्यक योजनाको बजेट कटौती गरिएको छ। द मस्को टाइम्सको रिपोर्टअनुसार सन् २०२६ का लागि पहिले तय गरिएको बजेटको तुलनामा सन् २०२७ मा विभिन्न क्षेत्रले कम रकम पाउनेछन् :
- राष्ट्रिय अर्थतन्त्र : करिब ३ प्रतिशत कटौती
- आवास तथा बिजुली–पानीजस्ता सुविधा : ८ प्रतिशत कटौती
- स्वास्थ्य सेवा : करिब ३ प्रतिशत कटौती
- पेन्सन तथा सरकारी सहायता : करिब ६ प्रतिशत कटौती
अर्थात्, सरकारले सेनामा बढी रकम खर्च गरिरहँदा आम नागरिकले पाउने आधारभूत सुविधा र सरकारी सहायताको बजेट खुम्चिने भएको छ।
सन् २०२७ मा रूसी सरकारले कुल ४८.७४ ट्रिलियन रूबल खर्च गर्ने योजना बनाएको छ, जसको एकतिहाइभन्दा बढी हिस्सा सेना र रक्षामा मात्र जानेछ।
भारी सैन्य खर्चले बजेटमा ६६ अर्ब डलर घाटा
सेनामा भइरहेको निरन्तरको भारी खर्चका कारण रूसी सरकारसामु आर्थिक स्रोतको अभावसमेत बढ्दै गएको छ। सरकारको आम्दानीको तुलनामा खर्च अत्यधिक हुँदा सन् २०२७ मा बजेट घाटा ५.४४ ट्रिलियन रूबल (करिब ६६ अर्ब अमेरिकी डलर अर्थात् करिब १०० खर्ब ६४ अर्ब नेपाली रुपैयाँ) रहने अनुमान छ।
सरल भाषामा भन्नुपर्दा सरकारले जति आम्दानी गर्नेछ, त्योभन्दा करिब १०० खर्ब ६४ अर्ब नेपाली रुपैयाँ बढी खर्च गर्नेछ। यो रकम रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २.२ प्रतिशत बराबर हुनेछ।
यो घाटा पूर्ति गर्न रूसी सरकारले ऋण लिनुपर्नेछ। सेनामा बढ्दो खर्चको प्रत्यक्ष असर अन्य सरकारी कामकारबाहीमा परिरहेको छ। युद्धका लागि ठूलो रकम जुटाउनुपरेकाले सरकारले स्वास्थ्य, पेन्सन र अन्य अत्यावश्यक योजनाको बजेटमा कटौती गरिरहेको छ।
अनुसन्धानकर्ता जेनिस क्लुगका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा रूसी सरकारले आफ्नो कुल खर्चको करिब ४६ प्रतिशत हिस्सा सेनामा खर्च गरेको थियो। उक्त अवधिमा सेनाका लागि ५.९ ट्रिलियन रूबल (करिब १०९ खर्ब २८ अर्ब नेपाली रुपैयाँ) खर्च भएको थियो।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4