Comments Add Comment

वीरगञ्जमा उपचाररत ४ जनाको तेस्रो रिपोर्ट नेगेटिभ

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारैजनाको पछिल्लो रिर्पाेट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ । यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ।

अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा मदन उपाध्यायले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पखाइमा रहेको बताए । ‘संक्रमितको अवस्था सामान्य छ, तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबैको नजिता नेगेटिभ आएको छ,’ उनले भने, ‘ शुक्रबार पठाएको थ्रोट स्वाब नमूनाको रिपोर्टको आधारमा डिस्चार्ज गर्ने वा नगर्ने निर्णयमा पुग्छौं ।’

संक्रमितको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गरिने

तीन भारतीय संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गरिने भएको छ । पीसीआर परीक्षणका लागि वीरगञ्ज-२ र ३ मा थ्रोट स्वाबको नमूना संकलन सुरु भइसकेको छ । शुक्रबार साँझसम्म त्यस क्षेत्रबाट १८७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिसकिएको छ ।

छपकैया, सिदार्थ मावि क्वारेन्टाइन र नारायणी अस्पतालका शङ्कास्पद जमाती र संक्रमितको सम्पर्कमा आएका १८७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय जमातीमा कोरोना संक्रमण देखिएपछि वीरगञ्ज-२ छपकैया र आसपासको क्षेत्रलाई सिल गरिएको छ । संक्रमितको सम्पर्कमा पुगेकाहरुको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरपलिका, नेपाली सेना, नारायणी अस्पता लगायतको संयुक्त टोलीद्वारा छपकैया पोखरी नजिकै अस्थायी क्याम्प खडा गरेर थ्रोट स्वाबको नमूना संकलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment