Comments Add Comment

उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको रिपोर्ट नेगेटिभ

१३ वैशाख, काठमाडौं । उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो । शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुरको नुरी मस्जिद र भुल्केमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि जिल्लामा नाकाबन्दी गरिएको छ । संक्रमितहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा चौदण्डीगढी, त्रियुगालगायतका बिभिन्न ठाउँहरुबाट थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको जानकारी दिएका थिए ।

देवकोटाका अनुसार खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि मस्जिद वरपर बसेका परिवारहरुबाट ती नमूना संकलन गरिएको थियो । मन्त्रालयका अनुसार उदयपुरमा थप परीक्षण गर्ने योजनाअनुसार नमूना संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment