Comments Add Comment

अनुदानको रासायनिक मलसहित दुई जना पक्राउ

१३ वैशाख, वीरगञ्ज । बाराको विश्रमपुरबाट प्रहरीले ९० बोरा रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिश्रामपुर–२ बस्ने महेन्द्र साह तेली र २८ वर्षीय रामबाबु पन्डित पक्राउ परेका हुन् । महेन्द्र माँ गायत्री खाद भण्डारका सञ्चालक र रामबाबु ना.६ त ७३६८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।

कालोबजारी गर्ने उदेश्यले रासायनिक मल ल्याइएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

५० बोरा युरिया मल, ३० बोरा डीएपी मल र १० बोरा सल्फेट युक्त मल बरामद भएको उनले बताए । ‘सहकारीलाई अनुदानमा दिइएको मल ब्यापारीलाई कालोबजारी गर्न दिने सहकारी सञ्चालकहरुको पनि खोजी गरिरहेका छौं ।’ उनले भने । उनीहरुको साथबाट अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी–६ बाराको नाममा मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राइभेट फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी समेत बरामद गरिएको उनले बताए ।

साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगञ्जबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लि.प्रसौनी–६ बाराको नाममा बिक्री भएको मल कालो बजारी गर्ने उद्देश्यले माँ गायत्री खाद भण्डारलाई बेचिएको प्रहरीको दाबी छ । अनुदानमा ल्याइएको मल सहकारीले व्यापारीलाई बेच्न नमिल्ने उनले बताए ।

पक्राउ परेकाहरु विरुद्ध कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment