Comments Add Comment

बागलुङबाट ल्याइएका पर्सा र रौतहटका मजदुर क्वारेन्टाइनमा

१३ वैशाख, वीरगञ्ज । लकडाउनमा अलपत्र मजदुर बोकेर बिहीबार बागलुङको गल्कोटबाट छुटेका दुईवटा बस गाउँ आइपुगेको छन् ।

पर्सा र रौतहटका मजदुर बोकेर दुईवटा बस मजदुरको गाउँ पुगेका हुन् । पर्सामा छ जना भारतीयसहित ४३ जना आइपुगेका छन् । उनीहरूमध्ये अधिकांश निर्माण कार्यमा खट्ने राज मिस्त्री र मजदुर हुन् ।

गल्कोट नगरपालिका वडानम्बर ५ र ६ मा लकडाउनमा अलत्र मजदुर बोकेर बा३ ख ८३०३ र बा४ख ५७९० नम्बरको बस छुटेका थिए । पास बनाएर आएको भए पनि मजदुर चढेको बसलाई शुक्रबार दिनभर कास्की जिल्ला प्रशासनले रोकेर राखेको थियो ।

पर्सा र रौतहटका जिल्ला प्रशासन कार्यालयको आग्रहमा शुक्रबार राति उनीहरूलाई छोडिएको थियो । शनिबार बिहानै उनीहरू गन्तव्यमा आइपुगेका छन् ।

बसमा आएका अजयकुमार साहले लकडाउनमा खानलाई समस्या हुन् थालेपछि घर फर्केको बताए । ‘एक दुई दिन काम गरेका थियौँ, त्यसबापत पाएको अलिअलि पैसा थियो, किनेर खाँदाखाँदा त्यो पनि सकियो । राहतमा पनि पाँच किलो चामल मात्रै पायौँ,’ उनले भने, ‘खानै समस्या हुन थालेपछि पास बनाएर घर फर्केका हौँ ।’

घर आए पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको उनले सुनाए । ‘घरमा जाँदा क्वारेन्टाइन बस्नु पर्दै भन्ने सुनेका थियौँ, तर त्यसो होइन रहेछ, यहाँ त १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ,’ उनेले भने ।

प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आफूहरूलाई क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए । पर्सामा छिपहरमाई गाउँपालिकाले मजदुर व्यवस्थापनको जिम्मा लिन तयार भएपछि मजदुरलाई झिकाइएको थियो । पछि बसमा आएका ४३ जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए ।

‘छिपहरमाईको ३० जना, भारतीय नागरिक ६ जना, धोविनी गाउँपालिका र जगरनाथपुरका ५ जना गरी ४३ जना आइपुगेका छन्,’ उनले भने, ‘उनीहरुलाई राख्न क्वारेन्टाइनको बन्दोबस्त मिलाएको छु । १४ दिनसम्म त्यहीँ राख्छौँ ।’

छिपहरमाईका जनता कास्कीमा अलपत्र परेको जानकारी पाएपछि उद्दारका लागि अग्रसरता देखाएको अध्यक्ष गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment