Comments Add Comment

लकडाउनमा विपन्नलाई निःशुल्क भोजन, पाँच दिनमै चार हजारले खाए

१३ वैशाख, काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुले स्थानीय तहले बाँडेको राहतमा समेत पहुँच नपाएको गुनासो आइरहेका बेला टोल टोलमा विभिन्न संस्था र व्यक्तिले भोकाहरुलाई भोजन गराउने अभियान नै चलाइरहेका छन् ।

वडाले बाँड्ने खाद्यान्न राहतमा सम्पन्नले समेत अधिकार खोज्न थालेपछि कतिपय वडाध्यक्षहरुकै पहलमा सामुहिक भोजनको व्यवस्था गर्न थालिएको हो । काठमाडौंको महाराजगन्ज क्षेत्रमा एकै व्यक्तिले ५ दिनभित्र करिब ४ हजार ३ सय व्यक्तिलाई खाना खुवाएका छन् ।

बसुन्धरा निवासी व्यवसायी तथा तत्कालिन नेकपाका केन्द्रीय लेखा आयोग सदस्य होम बुढाथोकी एक्लैले लगातार ५ दिनदेखि विपन्न र अलपत्र परेका बटुवाहरुलाई खाना खुवाइरहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपक केसीले बताए ।

बुढाथोकीले सो क्षेत्रमा कार्यरत मजदुरहरुले खानै नपाएको गुनासो आएपछि मंलबारदेखि महाराजगन्जका विभिन्न ठाउँमा खाना खुवाउने व्यवस्था गरेका हुन् । उनले खानै नपाएकाहरुलाई खबर गरेरै खानाका प्याकेट बाँड्ने गरेका छन् । पहिलो दिन ३५४ जनाले खाएकोमा पाँचौ दिन खानेको संख्या १ हजार नाघेको केसीले बताए ।

सुरुको दिन ३५४ जनाले खाना खाएकोमा दोस्रो दिन १ हजार ७४ जना र तेस्रो दिन एक हजार ५० जनालाई खानाको व्यवस्था गरिएको बुढाथोकीले बताए । चौथो दिन ९ सय ७७ र शनिबा पाँचौ दिन ९७४ जनाले खाना खाएको वडाध्यक्ष केसीले जानकारी दिए ।

उनले भने, ‘उहाँहरुले वडा कार्यालयसँग समन्वय गरेरै विपन्न र ज्यालादारीहरुलाई खाने व्यवस्था गर्नुभएको छ । एकजनाले पाँच प्याकेटसम्म भात खाए । पकाएरै खाना खुवाउने कुराले त्यस टोलका वास्तविक विपन्नहरुले राहत पाउने रहेछन्, हामीलाई पनि उहाँहरुको सेवाले सिकाएको छ ।’

रामेछापका नेकपा नेता बुढाथोकी काठमाडौंमा व्यवसाय गर्छन् । लकडाउनकै बीचमा आमाको निधन भएकाले काजकिरियापछि मात्र विपन्नहरुलाई खाना खुवाउने अवसर जुटेको उनले बताए । पाँचतारे होटलकै कुकले पकाएको खानेकुरा प्याकिङ गरेर श्रमिक र अलपत्र बटुवाहरुलाई खान दिइएको बुढाथोकीले बताए ।

हरेक दिन कतिजनालाई खाना खुवाइयो भन्ने जानकारी वडा कार्यालय र प्रहरीले राख्ने गरेका छन् । प्रायः एकै टोलका श्रमिक तथा विपन्नहरु खान आउने गरेका छन् भने बाटो हिडिरहेका र भोकाएका बटुवाहरुलाई पनि खान दिइने गरेको बुढाथोकीको भनाइ छ । लकडाउन अवधिभर आफूले खाना खुवाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment