
चलचित्र ‘लभ डायरिज’ फागुणको २ गते हलमा रिलिज भएको थियो । सौरभ चौधरी निर्देशित यो चलचित्रले हलमा गतिलो व्यापार गरेन । दर्शकले चलचित्रलाई मिश्रित पतिक्रिया दिए ।
यो चलचित्र रिलिज भएको २ महिनामै यसलाई युट्युबमा रिलिज गरिएको छ । अहिले यो चलचित्रलाई युट्युबमा रामो भ्युज मिलिरहेको छ । निर्माणपक्ष पनि युट्युबमा दर्शकले दिएको प्रतिक्रिया र भ्युजबाट खुशी छ ।
तर, हलबाट निर्मातालाई खुशी बनाउन नसकेको यो चलचित्रलाई युट्युबमा दर्शकले निःशुल्क मन पराउँदा निर्माणपक्ष खुशी हुनुपर्ने ठूलो कारण नहुन सक्छ । अर्कोतिर, लकडाउनका कारण दर्शकको रामो साथ मिल्छ भनेर यसको निर्माणपक्ष र यसको डिजिटल राइटस खरिद गरेको कम्पनीले युट्युबमा रिलिज गर्न हतार गरेको हुनसक्छ ।
त्यस्तै, गत भदौमा रिलिज भएको चलचित्र ‘पासवर्ड’ पनि युट्युबमा आइसकेको छ । यस चलचित्र युट्युब ट्रेण्डिङमा लामो समय बस्यो । भ्युज पनि राम्रै कमायो । तर, प्रतिक्रिया भने सुखद भएन ।
लकडाउन भएसँगै चलचित्र ‘पोई पर्यो काले’ पनि युटुबमा रिलिज भयो । यो चलचित्र युटुबमा आएसँगै यसको निर्माणपक्ष र कलाकार पनि दंग देखिए । हलमा औषत चलेको यो चलचित्रलाई युट्युबमा रुचाइयो ।
दर्शकको सुखद प्रतिक्रिया र भ्युजले यसको निर्माणपक्षलाई खुशी त दिलायो, तर यसले चलचित्र क्षेत्रलाई ठूलो फाइदा भने हुँदैन ।
किनकी, हलमा रिलिज भएको छोटो समयमा नै युट्युबमा चलचित्र आउँछन् भन्ने दर्शकलाई पर्न थाल्यो भने भोली हलमा यसको असर देखिने पक्का छ । नेपाली चलचित्र युट्युबमा रिलिज भएका कारण पनि हलमा दर्शकको चाप कम भएको तर्क यस अगाडि नगरिएको होइन । कतिपय चलचित्र निर्माताले युट्युबमा चलचित्र रिलिज गर्न लामो समय लगाउँछन् ।
यसैले, अब नेपाली चलचित्रका निर्माताले अरु विकल्प खोज्नेतिर सोच्न आवश्यक छ । डिजिटल प्लेटफर्ममा चलचित्र विक्री गरेर निर्माताले आफू जोगिने बाटो पनि खोज्न आवश्यक छ । कि, सधै युट्युबको भ्युजमै मख्ख परेर बस्ने हो ?
प्रतिक्रिया 4