Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्न धरानमा बन्यो सुविधासम्पन्न अस्पताल

१४ वैशाख, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको विषेश कोभिड–१९ अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको हो । एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा लेबल–थ्री स्तरको छुट्टै कोभिड–१९ अस्पताल तयार भएको जानकारी दिए । जस्तोसुकै कोरोना संक्रमितहरुलाई अब प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा राखेर उपचार गर्न सकिने उनले बताए ।

निर्माणकर्ताले कोभिड–१९ अस्पताल प्रतिष्ठानलाई आइतबार हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार नै अस्पताल निरीक्षण गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले कोभिड–१९ अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहबारे मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

कोभिड–१९ अस्पताल निरीक्षण गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखा परे पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनु नपर्ने बताए ।

‘प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएको हुनाले अलिकति पनि आत्तिनु पर्ने, विचलित हुनुपर्ने अवस्था छैन,’ मुख्यमन्त्री राईले भने, ‘हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गर्‍यौं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँजहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौं । दायरा पनि फराकिलो बनाएका छौं ।’

प्रतिष्ठानका उपकुलपति गिरीले पहिलो चरणमा १ सय बेड भए पनि आवश्यक परेमा थप ५ सय बेड बनाउन सकिने जानकारी दिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश सरकारको पहलमा संघ सरकारले प्रतिष्ठानमा छुटै कोभिड–१९ अस्पताल बनाउनका लागि १२ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

विराटनगरस्थित कोशी अस्पतालमा पनि प्रदेश १ सरकारले तयार पारेको कोभिड १९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment