Comments Add Comment

युरोपमा नेपाली होटल तथा रेस्टुरेन्ट व्यवसायी संकटमा

१५ वैशाख, बार्सिलोना। कोभिड-१९ ले नराम्रोसँग थलिएको युरोपमा व्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरू अहिले चिन्तित देखिएका छन्। युरोपमा नेपाली स्वामित्वका ५० भन्दा बढी होटलहरू अहिले बन्द हुँदा व्यवसायीहरू चिन्तित बनेका हुन्।

गैरआवासीय नेपाली संघका अभियन्ताहरूको “ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल रहेका छन् । अन्य नेपाली व्यवसायीहरूले पनि यहाँ होटल सञ्चालन गरेका छन् । एक होटल व्यवसायीकाअनुसार जर्मनीमा मात्रै नेपाली स्वामित्वमा ४० बढी होटलहरू रहेका छन् । यसबाहेक बेल्जियममा ६ वटा, फ्रान्समा २ वटा र स्विट्जरल्याण्डमा एक होटलमा पनि नेपाली व्यवसायीहरूले लगानी रहेको छ।

अहिले यी सबै होटलहरूबन्द छन्। व्यवसायीकाअनुसार आउँदो डिसेम्बरसम्मका सबै बुकिङहरू रद्द भइसकेका छन् । युरोपमा हरेक महिना आफ्नै गोजीबाट रकम हाल्ने अवस्था नरहेको व्यसायीहरू बताउँछन् । राज्यले उपलब्ध गराउने ऋण सुविधा लिएर व्यवसाय धान्नु नै व्यवसायीहरूको अन्तिम विकल्प रहेको उनीहरू बताउँछन् । तर, सबै कम्पनीहरू ऋण पाउन योग्य रहँदैनन् । सहुलियतमा ऋण रकम पाउने कम्पनीलाई मात्र व्यवसायी धान्न केही सजिलो देखिन्छ।

दुई दर्जनभन्दा बढी होटलहरूमा लगानी गरेका गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले अहिले व्यवसायमा नकारात्मक प्रभाव पारेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘सन् २०२० होटल व्यवसायका लागि अप्ठ्यारो अवस्था हो। पर्यटकहरू नआउने, हिँड्न डराउने अवस्था रहन्छ। विभिन्न ठूलाठूला कन्फ्रेन्सहरूलाई राज्यले नै रद्द गरेको अवस्था छ। तर, हामी पूर्ववतरुपमा काममा फर्कने छौँ भन्ने आत्मविश्वास राख्नुपर्छ।’

उनले संकटको घडीमा राज्यले ऋण सुविधा उपलब्ध गराएको हुँदा त्यसैमा निर्भर पर्नुपर्ने बताए। उनले भने, ‘५० भन्दा बढी कामदारहरू रहेको व्यवसायको हकमा भने राज्यले सहुलियत ऋण रकम उपलब्ध गराएको छ। त्यसलाई ५-७ वर्ष लगाएर तिर्न सकिन्छ। यही माध्यमबाट नै आफ्नो व्यवसायलाई बचाउनु पर्नेछ।’

वर्षौदेखि होटल व्यवसाय गरेर मुनाफा लिइसकेका व्यवसायहरूलाई अलि सहज देखिएपनि आफूहरूलाई पनि ठूलो चुनौती रहेको बेल्जियम निवासी व्यवसाय लोकप्रसाद दाहालले बताए। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्षसमेत रहेका दाहालले आफैँले रकम हालेर व्यवसाय धान्ने वा छोड्ने विकल्प रहेको बताए। उनले भने, ‘बेल्जियमको हकमा सबै होटलहरूका लागि बैङ्कले ऋण दिने अवस्था छैन। चार-पाँच तारे होटलहरूलाई ऋण मिल्ला तर हामी दुई-तीन स्टार होटल सञ्चालकहरूलाई गाह्रो छ।’

बेल्जियममा ठूला फेस्टिवलहरू रद्द भइसकेको पनि दाहालले बताए। “एउटै ग्रुपले पचासौ‌ं हजार युरो तिरेर होटल बुक गरेका थिए। ननरिफण्डवेल बुकिङ पनि सरकारको निर्देशनमा रकम फिर्ता गरिसक्यौँ।” उनले भने।

रेस्टुरेन्ट व्यवसायी पनि संकटमा

बेल्जियममा तीन सयभन्दा बढी रेस्टुरेन्ट व्यवसायहरू रहेको एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीले बताए। उनले भने,’ तीन सयभन्दा बढी व्यवसायी साथीहरू छौँ । सबैको परिवार यही व्यवसायमा आश्रित छन् । यो बेला कामदारहरू कटौती गर्न सक्छन् । कसैको काम छुट्न सक्ने अवस्था पनि छ।’

सरकारले रेस्टुरेन्ट व्यवसायीलाई तत्काल राहत स्वरुप चार हजार युरो दिएको सुवेदीले बताए। तर, स्पेनमा भने अन्य मुलुकमा जस्तो व्यवसायीहरूलाई ठूलो नगद सहयोग नगरेको गुनासो व्यवसायी दिनेश गिरीको छ। एनआरएनए स्पेनका उपाध्यक्षसमेत रहेका गिरीले भने, ‘स्पेनमा व्यवसाय धान्न निकै जटिल देखिएको छ। बार्सिलोनाका धेरै व्यवसायहरू पर्यटकमै केन्द्रित छन्। यो वर्ष आशा नगरेपनि हुने भो। यही गतिले आर्थिक मन्दीको सम्भावना देखिन्छ।’

पोर्चुगलमा एक दर्जन बढी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी ध्रुवराज सुवेदीले अहिले अवस्था अकल्पनीय रहेको बताए। ‘यहाँको सरकारले पनि व्यवसायीलाई तत्काल फाइदा हुने योजना ल्याएको देखिँदैन। यो बेला व्यवसाय धान्न पनि आत्मविश्वासको खाँचो छ। संकटसँग जुध्नु नै पर्छ तर हामीले धैर्यता गुमाउनु हुँदैन,’ सुवेदीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment