Comments Add Comment

क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि कोरोना संक्रमण पुष्टि

१६ वैशाख, रौतहट । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।

क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा कोरोना संक्रमणको पुष्टि भएन ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ती २५ वर्षका युवकको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि हुँदा उनले परिवार र समुदायमा १० दिन बिताइसकेका थिए । यो नतिजापछि वृन्दावन र आसपासका नगरपालिकामा पनि संक्रमणको खतरा बढेको छ ।

यो पनि पढ्नुहोस रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

अहिले प्रशासनले ती युवकको गाउँ वृन्दावन नगरपालिका ९ भुसाहा क्षेत्रलाई चार किल्ला तोकेर सिल गरेको छ । त्यस्तै मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको रौतहटको देवाही गोनाही नगरपालिका १ का ३५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रलाई पनि सिल गरिएको छ ।

समुदायको बृहत रुपमा स्क्रिनिङ गर्नुपर्ने भएकोले दुवै वडालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

यो पनि पढ्नुहोस कोरोना संक्रमण देखिएपछि रौतहटका दुई गाउँ सिल

संक्रमितका परिवार र समुदायलाई मास स्क्रिनिङ गर्नुपर्ने भएकोले सोको नतिजा नआउन्जेलसम्मका लागि उक्त इलाकाका व्यक्तिहरु बाहिर जान र उक्त इलाकामा बाहिरका व्यक्तिहरु जान नपाउने गरी सिल गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । संक्रमण देखिएका दुवै जनालाई उपचारका लागि वीरगञ्ज पठाउन लागेको उनले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आजबाट ११ बजेदेखि २ बजेसम्म खाद्यान्न र आधारभूत उपभोग्य सामग्रीको पसलहरु खोल्न दिएको अनुमति समेत खारेज गरेको छ । पछिल्लो केही दिनयता रौतहटमा लकडाउनको प्रभाव फितलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment