Comments Add Comment

गण्डकमा कोभिड–१९ अस्पताल सञ्चालन अनुमति दिन वीरगञ्ज महानगरको माग

१६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १४ स्थित गण्डक अस्पताल र वीरगञ्ज महानगरबीच कोभिड अस्पताल स्थापना गर्ने सहमति भइसकेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नदिएका कारण सञ्चालनमा आउन सकेको छैन ।

महानगरले कोभिड–१९ अस्पताल सञ्चालन गर्न निजी अस्पतालसँग सम्झौता गरे पनि कार्यान्वयन नभएपछि अन्यौलको अवस्थामा छ । मन्त्रालयले सञ्चालन अनुमति नदिएका कारण सञ्चालनमा ल्याउन नसकिएको वीरगञ्ज महानगरपालिकाले जनाउँदै आएको छ ।

महानगरपालिकाले गण्डक अस्पतालसँग गरिएको सम्झौताका बारेमा वैशाख ८ गते नै पत्र पठाएर मन्त्रालयमा जानकारी गराएको थियो । त्यसको सुनुवाई नभएपछि नगर प्रमुख विजय कुमार सरावगीले पुनः मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सरकारले भने वीरगञ्जको नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ । नारायणी अस्पतालले अहिले अरु सबै सेवा बन्द गरेर कोभिड–१९ को सेवा दिइरहेको छ । प्रदेश नं २ मा हालसम्म देखिएका कोभिड–१९ संक्रमितको नारायणी अस्पतालमै उपचार भइरहेको छ । नारायणीबाट ४ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै वीरगञ्जमा पछि भेटिएका दुई, रौतहटमा मंगलबार भेटिएका दुई र सर्लाहीका एक संक्रमितको उपचार भइरहेको छ ।

निजी क्षेत्रबाट सञ्चालित गण्डक अस्पताल प्रालिले भवन, औजार उपकरणलगायतका भौतिक सम्पत्ति निःशुल्क उपभोग गर्ने गरी सम्झौता गरिसकेको छ ।

नारायणी अस्पतालकै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र चिकित्सकको नेतृत्वमा सञ्चालन हुने गरी अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न दिन महानगरले स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको छ ।

वीरगञ्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोभिड संक्रमणले महामारीको रुप लिन सक्ने खतरालाई दृष्टिगत गरी तत्काल अस्थायी कोभिड अस्पताल सञ्चालनको अनुमति दिन पत्रमा माग गरिएको छ ।

नारायणी अस्पताललाई उपलब्ध गराइएको पीसीआर मेसिन सञ्चालनमा नआएको विषयमा पनि नगर प्रमुखले मन्त्रालयलाई जानकारी गराएका छन् । ‘वीरगञ्ज र आसपासका तीन—चार जिल्लाहरुको जनसंख्याको उच्च चाप छ । संक्रमण समुदाय स्तरमा जान सक्ने जोखिम पनि छ’ उनले भने ‘तत्काल पीसीआर मेसिनसहितको ल्याव संचालन गरिनुपर्छ ।’

त्यस्तै महानगरपालिकाले पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गर्न ५ हजार थान भीटीएमसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment