Comments Add Comment

हिमा गाउँपालिका उपाध्यक्षले दिइन् प्रशासकीय अधिकृतविरुद्ध उजुरी

१७ वैशाख, सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी छन् ।

यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् ।

स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यवहार सहन नसकेर उजुरी दर्ता गराएको उनको भनाइ छ । ‘मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ’, पत्रकार सम्मेलन गरी उनले भनिन् ।

उपाध्यक्ष रोकायले प्रशासकीय अधिकृतले प्रयोग गरेको अडियोसमेत सार्वजनिक गरेकी छन् ।

कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुर्व्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । ‘उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ’, प्रनाउ धामीले भने । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजुरी परेको प्रहरीले जनाएको छ ।

यो घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन । दुर्व्यवहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताए । बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उनले प्रतिक्रिया दिए ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको बताए । यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment