+
+
Shares

गाउँपालिकाको अनुदानले बढायो खसी उत्पादन, ५ करोड आम्दानी

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ असार ३२ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक बाख्रापालनबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन्।
  • आर्थिक वर्ष २०८२-८३ मा किसानले चार करोड ७० लाख ९७ हजार ५८६ रुपैयाँ बराबरका दुई हजार ५८० खसी बिक्री गरेका छन्।
  • गाउँपालिकाले सञ्चालन गरेको अनुदान कार्यक्रमअन्तर्गत योग्य किसान र सहकारीलाई नौ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको छ।

३२ असार, काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक बाख्रापालन किसानको भरपर्दो आम्दानीको माध्यम बन्दै गएको छ। सहकारीमार्फत व्यवस्थित रूपमा खसी बिक्री गर्ने अभ्यासले किसानले उचित मूल्य पाउन थालेपछि उत्पादन पनि उल्लेख्य रूपमा बढेको छ।

आर्थिक वर्ष २०८२ र ०८३ मा मात्रै गाउँपालिकाका किसानहरूले चार करोड ७० लाख ९७ हजार ५८६ रुपैयाँ बराबरका दुई हजार ५८० वटा खसी बिक्री गरेका छन्।

गाउँपालिकाले सञ्चालन गरेको ‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत पाँच वटा सहकारीमा आबद्ध किसानहरूले उक्त कारोबार गरेका हुन्। गाउँपालिकाको अभिलेखअनुसार खसी बिक्री गर्ने ८७८ किसानमध्ये एक सय केजीभन्दा बढी खसी बिक्री गरेका ४६९ किसानले प्रोत्साहन अनुदान प्राप्त गरेका छन्।

यस वर्ष किसानलाई प्रतिकिलो १२ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । उत्पादन बढे पनि बजेट सीमित भएकाले यसअघि दिँदै आएको प्रतिकिलो २० रुपैयाँ अनुदानलाई घटाएर १२ रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ। किसान र सहकारीलाई गरी करिब ९ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।

त्रिवेणी गाउँपालिका पशु सेवा अधिकृत बसन्त रावतका अनुसार यस वर्ष सहकारीमार्फत ९८ हजार २३ केजी खसी बिक्री भएको हो। किसानलाई ९ लाख ३३ हजार ५ सय १६ रुपैयाँ प्रोत्साहन रकम र सहकारी संस्थालाई व्यवस्थापकीय खर्चबापत ३८ हजार ८९६ रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिए ।

अनुदान प्राप्त गर्ने सहकारीमध्ये नमुना सामाजिक उद्यमी महिला सहकारीका ७४ किसानले एक लाख ३० हजार २३० रुपैयाँ, त्रिवेणी पशुपालन व्यवसाय सहकारीका १८१ किसानले दुई लाख ९६ हजार ८६२ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीका ५९ किसानले एक लाख ९ हजार ८ रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै, दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीमार्फत १३८ किसानले ३ लाख ६७ हजार ११६ रुपैयाँ तथा त्रिवेणी साना किसान सहकारीका १७ किसानले ३० हजार ३ सय रुपैयाँ अनुदान पाएका छन्।

रावतका अनुसार सहकारीमार्फत बजारीकरण भएपछि किसानले उचित मूल्य पाउन थालेका छन्। यसले परम्परागत रूपमा बाख्रा पाल्दै आएका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गरेको छ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले सहकारी प्रणालीले किसान र बजारबीचको दूरी घटाएको बताए। उनका अनुसार बजारको सुनिश्चितता भएपछि गाउँका युवादेखि महिलासम्म बाख्रापालन व्यवसायमा आकर्षित भएका छन्।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?