Comments Add Comment

प्रिय साथी इरफान, बिदा !

इरफानका साथी सुनील पोखरेल भन्छन्, अब त्यस्तो दिन कहिल्यै आउने छैन

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो ।

यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय गर्ने कलाकारले अल्पायुमै छाड्यो । अर्को– अभिनय क्षेत्रको एक आत्मीय र नजिकको साथीलाई बिदाई गर्नुपर्‍यो ।

सुनील पोखरेल सन् १९८४ मा नाटक पढ्नका लागि दिल्लीको ‘नेसनल स्कुल अफ ड्रामा’मा गएका थिए । त्यही स्कुलमा नाटक पढ्नका लागि इरफान खान पनि पुगेका थिए । त्यहीँ उनीहरूबीच सम्बन्ध जोडिदिएको थियो ।

एउटै विद्यालय मात्र नभएर उनीहरूको कक्षाकोठा पनि एउटै थियो र बस्ने होस्टेल पनि एउटै । त्यसैले उनीहरूको सम्बन्ध साथीबाट पनि अलिकति अगाडि बढेर पारिवारिक बन्यो । सुनील पोखरेल सम्झन्छन्, ‘ठिक यतिखेर म उसलाई राम्रो, सिन्सियर कलाकार र राम्रो साथीको रुपमा सम्झन्छु ।’

दिल्लीमा उनीहरूको कोर्ष तीन वर्षको थियो । तीन वर्षमा सुनीलले इरफान रमाइला र कलाकारितामा निकै जुनुन भएको कलाकारको रुपमा चिने । जतिबेला इरफानको उमेर भर्खर १८ वर्षको थियो ।

इरफान खान

‘त्यो तीन वर्षलाई अहिले कसरी सम्झनुहुन्छ ?’

सुनीलले लामो सास ताने र एकछिन रोकिएर बोले, ‘त्यो तीन वर्षको समय हाम्रो जीवनको निकै अविस्मरणीय समय थियो । त्यस्तो समय अब फेरि जीवनमा कहिल्यै आउँदैन ।’

तीन वर्षपछि नेपाल फर्किएर सुनील नाटकको साधनामा लागे । इरफानले ‘सलाम बम्बे’, ‘कमलाकी मौत’, ‘एक डाक्टरकी मौत’ जस्ता चलचित्रमा अभियन गरेर आफ्नो परिचय दिइसकेका थिए । इरफान बलिउडमा थप जमे । तर, सुनील र इरफानको सम्बन्धको तार चँुडिएन । ‘फोनमा पारिवारिक कुरा हुन्थे । अक्सर भेटको बेला अभिनयका कुरा गथ्र्यौँ’ उनले सुनाए । सुनील पोखरेल भारत जाँदा बम्बईस्थित इरफानकै घरमा बसेका थिए ।

इरफानलाई सुनीलले नेपाल देखाएका थिए । २००८ मा काठमाडौंमा आयोजना गरेको फिल्म फेस्टिबलमा सुनीलकै पहलमा इरफानलाई पाहुनको रुपमा बोलाइएको थियो ।

सुनील इरफानबारे थप खुल्छन्, ‘उसलाई जहिले पनि नयाँ खालको प्रोजेक्टहरू मनपथ्र्याे । निकै सावधानीपूर्वक फिल्मको छनोट गर्थे । श्रीमान–श्रीमती निकै छलफल गर्थे । आफ्नो सर्कल पनि त्यही खालको बनाएको थियो ।’ तर, इरफानलाई क्यान्सरले किचेपछि भने उनीहरूको सिधा सम्पर्कमा ब्रेक लाग्यो । ‘दुई तीन पटक निशा(सुनीलकी श्रीमती)ले इरफानकी श्रीमतीसँग कुरा गरेकी थिइन् । उनीहरू उपचारका लागि इंग्ल्याण्ड र अमेरिकातिर गए । त्यसपछि सम्पर्क हुन सकेन’ सुनीलले अनलाइनखबरसँग भने ।

तर, इरफानको श्रीमतीले पनि इरफानको उपचार र रोगबारे कुनै प्रतिक्रिया दिँदैनथि’न् । किनकि इरफान र उनकी श्रीमतीबीच रोगबारे अरूसँग कुरा नगर्ने बलियो सहमति भएको थियो । तर, उनले नभनिकनै आज संसारले थाहा पायो की इरफानको भौतिक शरीर अब हामी माझ रहेन ।

अन्ततः सुनील पोखरलेले पनि आफ्नो फेसबुकमा लेखे, ‘प्रिय साथी इरफान, बिदा ! रेस्ट इन पिस । आई अलवेज रिमेम्बर यु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment