Comments Add Comment

रौतहटमा संक्रमितको सम्पर्कमा आएका ४६ जनाको स्वाब संकलन

१७ वैशाख, रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ मा कोभिड १९ का थप दुई संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षीय युवक र दिल्लीबाट फर्किएर घर परिवारसँगै केही दिन बिताएर क्वारेन्टाइनमा गएका देवाही गोनाही १ का ३५ वर्षिय पुरुषको सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वाब संकलन गरिएको हो । “पीसीआर प्रविधिबाट परीक्षणका लागि हामीले स्वाब संकलन गर्न लगाएका छौं,” रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘संकलन गरिएको स्वाब परीक्षणका लागि टेकु पठाउँछौं ‘ यसअघि मंगलबार नै जिल्ला प्रशासन कार्यालय रौतहटले संक्रमित भेटिएका दुई वटा वडालाई सिल गरिसकेको छ ।

दुवै संक्रमितको सम्पर्कमा आएकाहरुको मास स्क्रिनिङ गर्नु पर्ने भएकोले वृन्दावन नगरपालिकाबाट २० जना, देवाही गोनाही नगरपालिकाका ९ र इशनाथ नगरपालिकाका १७ जनालाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

मंगलबार दुई नयाँ संक्रमति भेटिएपछि रौतहटमा त्राश उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले वृन्दावन नगरपालिका वडा नं. ९ भुसहाको दक्षिणमा भीमडाबर, उत्तरमा आकारपाथर, पश्चिममा बहुअरी र बरगजवा र पूर्वमा विर्ता गाँउको चार किल्लाभित्र पर्ने इलाका सिल गरेको छ भने देवाही गोनाही नगरपालिका वडा नं. १ नहरटोलको पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदी, उत्तरमा खेसरहिया र दक्षिणमा नहरसम्मको चार किल्लाभित्र पर्ने इलाका सिल गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment