
१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।
सदस्य वस्तीले अपहरण हो वा होइन भन्ने विषय प्रहरी र अदालतले हेर्ने भन्दै आफूहरुले उक्त घटनामा मानव अधिकार उल्लंघन भयो कि भएन र त्यसको पुनर्स्थापनाका लागि राज्यले के गर्नुपर्ने भन्ने विषयमा बोल्ने बताए ।
‘अपराध भयो/भएन, अपहरण हो/होइन त्यो हेर्ने काम हाम्रो होइन । त्यो प्रहरी र अदालतको काम हो । तर उजुरीमा लेखिए बमोजिमको कार्यहरु भए कि भएनन् । ती कार्यहरु भएको भए उजुरीकर्ताको मानव अधिकार उलंघन भयो कि/भएन् । उलंघन भएको रहेछ भने त्यसलाई पुनर्स्थापना गर्न के गर्नुपर्छ । राज्यले के गर्नुपर्छ । सरकारले के गर्नुपर्छ भन्ने कुरा हामी बोल्नुपर्छ । त्यो बोल्ने हाम्रो कर्तव्य हो । हामी आफ्नो कर्तव्यप्रति सजग छौँ’ उनले भने ।
महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।
त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।
प्रतिक्रिया 4