Comments Add Comment

निगुरो : जैविक, पोषिलो र स्वादिलो

वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ?

हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन ।

पौष्टिकताले भरिपूर्ण

निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ ।

पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।

पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।

पूर्णत: जैविक

निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ ।

के हो निगुरो ?

यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

पहाडदेखि तराईसम्म

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

करेसाबारीमा रोप्न सकिन्छ

त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ ।

तर, सर्तक हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment