Comments Add Comment

अमेरिकाबाट गायक हिमाल सागर : अभरमा परेँ, नेपाल फर्किन पाउँ

लकडाउनले ७० दिनदेखि अमेरिकामा 'अलपत्र'

३० वैशाख, काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका गायक हिमाल सागर लकडाउनका कारण ७० दिनदेखि त्यहीँ ‘अलपत्र’ परेका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको आह्वान छ ।

अमेरिकामा बस्ने नेपाली समुदायको निमन्त्रणमा गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका थिए । नेपाली नयाँ वर्षका अवसरमा अमेरिकाका विभिन्न शहरमा उनले झण्डै एक दर्जन प्रस्तुति दिने कार्यक्रम थियो । त्यसबेला नेपालमा कोरोना थिएन भने अमेरिकामा फाट्टफुट्ट संक्रमित देखिन थालेका थिए । ‘त्यसबेला कसैले सोचेकै थिएन कि अमेरिकामा महामारीले यस्तो उग्र रुप लिन्छ भन्ने । नेपालमा त झन् अवस्था एकदम सामान्य थियो,’ हिमालले भने ।

हिमालका लागि अमेरिका नौलो पनि होइन । सन् २०१५ यता उनले पाँचपटक सांगीतिक कार्यक्रमका लागि अमेरिका भ्रमण गरिसकेका छन् । त्यहाँ उनले चिनेजानेका नेपालीहरु थुप्रै छन् । विगतका यात्रामा निकै मिठा अनुभवहरु संगालेका हिमालको यसपालीको यात्रा भने नमिठो भयो ।

उनी पुगेदेखि नै दिन दुई गुना रात चौगुना संक्रमितहरु बढ्न थाले । मानिसहरु मर्ने क्रम सुरु भयो । कोरोनाले महामारीको रुप लिएपछि पूर्वनिर्धारित कार्यक्रमहरु धमाधम स्थगित हुन थाले । हिमालको सांगीतिक यात्रा पनि विथोलियो ।

अमेरिका पुगेपछि हिमाल न्यूयोर्कमा पाँच दिन बसेका थिए । त्यहाँबाट उनी भर्जिनिया आए । भर्जिनियामा मार्च ८ को कार्यक्रममा उनले प्रस्तुति दिए । त्यसपछि ओहायो, मरिल्याण्ड, नर्थ क्यारोलिना, चार्लोट लगायतका शहरहरुमा उनको कार्यक्रम थियो । तर, कोरोनाको प्रकोप बढेपछि ती सबै रद्द भए । सरकारले लकडाउन पनि गरेपछि उनी भर्जिनियाबाट कतै निस्कन पाएनन् ।

हिमालको नेपाल फर्किने टिकट १२ चैतलाई थियो । उनी त्यही दिनको पर्खाइमा बसे । तर, त्योभन्दा तीन दिनअगाडि नेपालमा सरकारले सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाइदियो । ११ चैतबाट नेपालमा पनि लकडाउन भयो । त्यसैले उनी नेपाल फर्किन सकेनन् ।

‘सुरुमा त त्यति चिन्ता लागेको थिएन । नेपालमा कोरोना नफैलिएकाले केही दिनमा सरकारले लकडाउन खोल्छ होला र अन्तर्राष्ट्रिय उडान पनि सुचारु होला भन्ने थियो । तर, अहिले त नेपालमा पनि संक्रमितहरु बढिरहेका छन् । लकडाउन झन् कडा बनाउने चर्चा छ । उडानहरु खुल्ने कुनै सुरसारै छैन । म त यहाँ अलपत्रै परेँ । अब आतेश लाग्न थालेको छ,’ उनले भने ।

भर्जिनियाको विनचेस्टरमा बस्ने साथी महेश भट्टको परिवारमा हिमालले आश्रय लिइरहेका छन् । लामो समयसम्म यसरी आश्रय लिएर बस्नुपर्दा उनलाई असहज महसुस भइरहेको छ ।

‘उहाँहरुले परिवारकै सदस्यजस्तो गरेर राख्नुभएको छ । तर कति दिनसम्म अरुलाई दुख दिने ? कहिले फर्किने भन्ने टुंगो नभएपछि साह्रै तनावमा छु,’ उनले भने ।
आफूजस्तै अभरमा परेका धेरै नेपालीहरु अमेरिकामा रहेको भन्दै उनले स्वदेश फर्किने वातावरण मिलाइदिन सरकारसँग आह्वान गरे । हिमालका अनुसार एनआरएनए अमेरिकाले अप्ठेरोमा परेका नेपालीहरुलाई प्लेन चार्टड गरेर नेपाल फर्काउन पहल गरे पनि सरकारबाट स्वीकृति पाएको छैन ।

उनी भन्छन्, ‘हामी नेपाल फर्किएपछि तीन सातासम्म कडा आइसोलेसनमा बस्न तयार छौं । ‘सरकारले स्वीकृति दिन डराउनुपर्ने कारण छैन ।’

केही दिनअघि भुटानले आफ्नो देशकी एक अभिनेत्रीलाई प्लेन चार्टर गरेर नेपालबाट फर्कायो । यो खबर सुनेका हिमालले नेपालको सरकारले पनि आफ्ना नागरिकहरुप्रति जिम्मेवारी वहन गर्ने आशा राखेका छन् ।

‘भुटानले एक कलाकारलाई प्लेन चार्टर गरेर लग्यो । मैले त्यस्तो विशेष सुविधा मागेको पनि छैन । यहाँ धेरै नेपालीहरु हुनुहुन्छ । विद्यार्थीहरुदेखि वृद्धवृद्धारु पनि हुनुहुन्छ । सबैका लागि बोलेको हुँ,’ उनले भने ।

हिमालको ६ महिनाको भिसा लगाएर गएका थिए । अब उनको भिसा ३ महिना बाँकी छ । त्यतिञ्जेलमा पनि फर्किन नसके उनी अवैध बन्नेछन् ।

भर्जिनियामा पनि कोरोना तिव्ररुपमा फैलिरहेको छ । अहिलेसम्म २५ हजारभन्दा बढि संक्रमित भेटिएका छन् । हिमाल बसेको विनचेस्टर भन्ने ठाउँमा २ सयजति संक्रमित छन् । संक्रमणको डरले प्राय मानिसहरु घरभित्रै बसिरहेका छन् । तर, भर्जिनियाको सरकारले १५ तारिखबाट सबै अफिस, व्यवसाय तथा कलकारखाना खुल्ला गर्ने घोषणा गरेको छ ।

हिमाललाई आश्रय दिइरहेका महेश भट्ट अमेरिकामा व्यवसाय गर्छन् । भर्जिनियामा उनका ब्यूटी पार्लर, मोबाइल रिपेयरिङ सेन्टर र पिज्जा हाउस छन् । कोरोनाको त्राशले गर्दा डेढ महिनादेखि ती सबै बन्द गरेर उनी पनि घरमै बसिरहेका छन् । तर, राज्य सरकारले लकडाउन खोल्ने भएपछि भट्टको परिवार पनि चिन्तामा छ ।

‘लकडाउन खोलेपछि सरकारले पैसा दिँदैन । त्यसैले जोखिम मोलेर पनि व्यवसाय सञ्चालनमा ल्याउनैपर्ने वाध्यता उहाँहरुलाई छ । तीनवटा स्टोरको मासिक भाडा मात्रै ३५ हजार तिर्नुपर्दो रहेछ । घर बसेर त्यत्रो पैसा कसरी तिर्ने ?’ हिमालले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment