+
+
Shares

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

विकास मरहट्टा विकास मरहट्टा
२०७७ जेठ १ गते १५:४९

१ जेठ, गोरखा । बाँझो जग्गामा खेती गर्न चाहने बारपाक सुलिकोट गाउँपालिकाका किसानहरूले अनुदान रकम पाउने भएका छन् । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

‘दुई वर्ष वा सोभन्दा बढी समयदेखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गर्न अनुदान कार्यक्रम ल्याएका हौ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने हाम्रो उद्देश्य हो ।’

उनका अनुसार, खाद्यान्न र तरकारी बाली लगाउने कृषकलाई प्रति रोपनी ३ हजारको दरले अनुदान उपलब्ध गराइने छ । खाद्यान्न बालीअन्तर्गत धान, मकै, गहुँ, जौ, कोदो र तरकारी बालीअन्तर्गत सागसब्जी, सिमी, बोडी, फर्सीलगायत बाली पर्ने उनले बताए ।

त्यस्तै, मसला बाली र फलफुल बाली उत्पादन गर्न चाहनेलाई प्रति रोपनी क्रमशः २५ सय र २ हजार नगद अनुदान दिइने उनको भनाइ छ । मसला बालीअन्तर्गत खुर्सानी, जिरा, धनियाँलगायत बाली पर्ने उनले जानकारी दिए ।

बाँझो जग्गा उपयोग अनुदान कार्यविधि २०७७ जारी गरिसकेको बताउदै पालिका अध्यक्ष भट्टले भने,‘अब केही दिनमा बाँझो जग्गाको लगत संकलनको काम सुरु गर्छांै ।’ गाउँपालिकाको कृषि शाखाले सम्बन्धित वडासँग समन्वय गरेर बाँझो जग्गाको लगत संकलन गर्ने उनले बताए ।

बाँझो जग्गाको विवरण नबुझाउनेलाई कारबाही

बाँझो जग्गाको विवरण नबुझाउने जग्गाधनी वा नजिकको हकवालालाई कारबाही गरिने गाउँपालिकाले जनाएको छ । ‘जुनसुकै खेतीयोग्य जमिन खाली रहेको विवरण उपलब्ध गराउन प्रत्येक वडा कार्यालयमार्फत सार्वजनिक सात दिने सूचना जारी गर्छौैं,’ उनले भने, ‘उपलब्ध नगराउनेलाई कारबाही हुन्छ ।’ प्रतिरोपनी २ सय रुपैयाँका दरले जरिवाना गरिने पालिका अध्यक्ष भट्टले बताए ।

बाँझो जमिनमा जग्गाधनी आफूले खेती गर्न नसके इच्छुक व्यक्ति वा वडा कार्यालयले सिफारिस गरेको व्यक्तिलाई खेती गर्नका लागि जमिन भाडामा दिनुपर्ने पालिकाले जनाएको छ । खेतको प्रति रोपनी ५ सय र पाखो बारीको ४ सय रूपैयाँ भाडा तोकिएको पालिका अध्यक्ष भट्टले बताए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?