Comments Add Comment

लक्षण नदेखिएका वीरगञ्जका संक्रमितलाई विद्यालयमा सारिने

२ जेठ, काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा ठाउँ नभएपछि लक्षण नदेखिएका कोरोना संक्रमितलाई विद्यालयमा सारिने भएको छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएको नारायणी अस्पतालमा सबै संक्रमित नअटेपछि वीरगञ्जकै सिद्धार्थ माविमा बनाइएको आइसोलेसनमा पनि संक्रमितलाई राखिएको छ । हाल नारायणी अस्पतालमा ७० जना र सिद्धार्थ माविमा १७ जनालाई राखिएको छ ।

अब लक्षण नदेखिएका संक्रमितलाई विद्यालयमा सारिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

पर्सामा कोरोना संक्रमितको संख्या बढेसँगै पीसीआर परीक्षण गराउनेको संख्या पनि बढेको छ । तर उनीहरुलाई अहिलेसम्म पनि क्वारेन्टाइनमा राखिएको छैन, उनीहरु होम क्वारेन्टाइनमै बस्दै आइरहेका छन् ।

पीसीआर परीक्षण गराएर पनि क्वारेन्टाइनमा नबसेका व्यक्तिलाई तत्काल क्वारेन्टाइनमा ल्याएर राख्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको बस्नेतले जानकारी दिए ।

बैठकले संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्न जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ ।

कोभिड १९ को शंकास्पद व्यक्तिमध्ये स्वास्थ्यकर्मीलाई होटल र अरु व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए । बस्नेतका अनुसार कसैले तोकिएका शर्त र मापदण्ड पालना गर्ने र सुरक्षा निकायको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिई समूहमा क्वारेन्टाइनमा बस्न चाहेमा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment