Comments Add Comment

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

कोरोनाले मृत्यु भए पोष्टमार्टम गर्नुपर्दैनः कार्यविधि

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।

कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।

नेपाल प्रहरीका एक अधिकृतले महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘शव बाहनमार्फत पशुपति आर्यघाट लाँदैछौं ।’

दाह संस्कारबारे यस्तो छ व्यवस्था

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ ।

मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment