Comments Add Comment

सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन

३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए/नभएको अध्ययन गर्ने भएको छ ।

२९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर, मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए/नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

सुत्केरी महिलाको मृत्युका सम्बन्धमा शनिबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले दिएको जानकारी यस्तो छ–

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । २४ गते उहाँको (नर्मल डेलिभरी) सुत्केरी भएको विवरण हामीलाई सो अस्पतालबाट प्राप्त भएको छ । उहाँ २५ गते डिस्चार्ज हुनुभएको थियो । त्यसपछि उहाँ सिन्धुपाल्चोक आफ्नो घर जानुभएको थियो ।

घर गइसकेपछि ज्वरो, श्वासप्रश्वासमा समस्यालगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ । उहाँको स्थिति जटिल बन्दै जाँदा उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको खबर हामीले पाएका छौं ।

यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरू लिइरहेका छौं । कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरू भइरहेका छन् । यो परीक्षणहरुको र सम्पूर्ण विवरणहरू प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड-१९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्यौल गरेर प्रसारण गर्ने व्यहोरा सबैलाई म जानकारी गराउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment