+
+
Shares

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १८:२३

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनुहुनेछ । यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन ।

यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हुनेछ ।

यसअघि यसै वर्ष सिन्ह्वाले जनाएअनुसार, दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ समकक्षीसँगै तालिम सुरु गरेका थिए । उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना रहेको बताइएको थियो ।

उक्त तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपका साथै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो ।

यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो पटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धी अमेरिकालाई मानिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?