२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् ।
देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका हुन् ।
देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै बर्खास्त गर्ने अधिकार बसैलाई नभएको नेता सिंहले बताए ।
कांग्रेसको परम्परा र विधानअनुसार आफूहरू अघि बढिरहेको बताउँदै उनले विशेष महाधिवेशन गर्नेहरूले पार्टीको निर्वाचित सभापति र कार्यसमितिलाई हटाउने अधिकार कहाँबाट पाए भन्दै प्रश्न पनि गरे ।
‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँले राजीनामा दिनुभएको छैन,’ उनले भने, ‘तथाकथित विशेष महाधिवेशन गर्नेहरूले पावर कहाँबाट पाए ? १४ औँ महाधिवेशनले निर्वाचित गरेको पार्टी सभापतिलाई बर्खास्त ग¥यो रे, त्यतिमात्र होइन, कार्यसमितिलाई पनि बर्खास्त ग¥यो । कहाँबाट उनीहरूले त्यो अधिकार पाए ?’
नेता सिंहले विधि र प्रक्रियाविपरीत हुने काममा साथ दिने प्रवृत्तिको आलोचना गर्दै त्यसको मूल्यांकन समाज र इतिहासले गर्ने बताए । राजनीतिक स्वार्थका लागि गलत काममा सहमति जनाउने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।
पूर्वमहामन्त्री सिंहले कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी निर्वाचन आयोगले एकतर्फी रूपमा गरेको निर्णय आफूहरूलाई मान्य नभएको स्पष्ट जिकिर गरे ।
निर्वाचन आयोग पूर्वाग्रही रहेको आरोप लगाउँदै उनले आयोगले गर्ने निर्वाचनमा सहभागी हुन नहुने सुझाव आफूले देउवालाई दिएको पनि बताए ।
‘नेपाली कांग्रेसको विधानलाई वास्ता नगरी, संविधानमा व्यवस्था भएको राजनीतिक दलसम्बन्धी कानुनलाई नमानी प्रक्रिया नअपनाइ एकतर्फी ढंगले निर्वाचन आयोगले गरेको निर्णय हामी मान्दैनौं,’ उनले भने, ‘पूर्वाग्रही निर्वाचन आयोगले गर्ने निर्वाचनमा हामीले भाग लिनु हुँदैन भनेर मैले सभापतिजीलाई भनेको थिएँ ।’
प्रतिक्रिया 4