Comments Add Comment

काठमाडौंका सफाइ कर्मचारीमा कोरोना संक्रमण देखिएन

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने सफाइ कर्मचारी कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ । महानगरमा काम गर्ने ९३४ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

महानगरले शुक्रबार ९३४ सफाइ कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट कोरोना संक्रमण परीक्षण गराएको थियो । जसमध्ये आरडीटीबाट परीक्षण गराएका ३१ जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

एन्टीबडी पोजेटिभ देखिएकाहरुको पुन पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

परीक्षण गरिएका सबै सफाइ कर्मचारीको शनिबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण रिपोर्ट आएको र सबैको नेगेटिभ आएको उनले जानकारी दिए ।

सफाइ कर्मचारी उच्च जोखिममा रहेको भन्दै महानगरले शुक्रबार इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा उनीहरुको परीक्षण गरिएको थियो ।

परीक्षण गर्दा सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी पोजेटिभ देखिएकाहरुलाई महानगरले विभागकै क्वारेनटाइनमा राखेको थियो । नतिजा आएपछि केहीलाई शनिबार नै घर पठाइएको महानगरको सञ्चार शाखाका चन्द्रमणि भट्टराईले जानकारी दिए । ‘साझ ढिला नजिता आएकाले सबै जना घर जान पाउनुभएन, उहाँहरु भोलि जानुहुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment