Comments Add Comment

बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए ‘नर्स रोबोट’

३ जेठ, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्रमानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरूले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् ।

एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

मोबाइलमा हेरेरै एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दुरीसम्म जान र फर्किन सक्छ ।

रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ । यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन । ‘रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुर्‍याइदिन सक्छ’, निर्माणकर्तामध्येका एक लव पन्थीले भने, ‘भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’

एक हप्तामा सफ्टवेयर बनाएपछि दुई हप्ता समय लगाएर रोबोटको हार्डवेयर (शरीर) तयार गरेको कुश पन्थीले बताए । रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले बताए ।

लव-कुश तिलोत्तमा कलेजमा कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पढ्दैछन् । उनीहरूले ‘नर्स रोबोट’ शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेका छन् ।

रोबोट सञ्चालनको अवलोकनपछि मन्त्री बरालले कलिलो उमेरमै जुम्ल्याहा दाजु भाइले गरेको वैज्ञानिक खोज र आविष्कारको सह्राना गर्दै मन्त्रालयले रोबोट बनाउन लागेको खर्च व्यहोर्ने बताए ।

उनले रोबोटलाई थप परिमार्जन गरी केही ठूलो आकारको र बोल्न सक्ने बनाउन सुझाव दिंदै त्यसका लागि लाग्ने खर्च पनि मन्त्रालयले दिने प्रतिवद्धता जनाए ।

‘कोरोना जस्तै संक्रामक रोगहरूको उपचारमा यस्ता मानवयन्त्रको प्रयोगलाई बढाउनुपर्छ भन्नेमा प्रदेश सरकार स्पष्ट छ’ मन्त्री बरालले भने । यसअघि लव–कुशले कक्षा ८ मा पढ्दै गर्दा पहिलोपटक अंग्रेजी भाषामा बोल्ने गो–गो–१ रोबोट बनाएका थिए ।

त्यसपछि नेपाली भाषा बोल्ने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने विशेषताको गो–गो– २ र लब कुश मार्स रोबोट गरी तीनथरीका रोबोट बनाइसकेका थिए । केही दिनअघि उनीहरूले तिलोत्तमा प्रवेशद्वारामा जडान गरिएको स्टानिटाइजर स्टेसनका लागि सेन्सर सिस्टम डिजाइन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment