Comments Add Comment

कोरोना संक्रमित परिवारको पीडा : आत्मबल बढाउनुको साटो खुच्चिङ भने

३ वैशाख, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या बढ्दो छ । कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरूले अस्पतालमा राम्रो उपचार नपाउने समस्या त छँदैछ, संक्रमितको परिवारका सदस्यहरूले मानसिक यातना र दुर्व्यवहारसमेत व्यहोर्नुपरेको पाइएको छ ।

वीरगञ्जका पत्रकार सुरेश बिडारीलाई कोरोना संक्रमण भएको ३० वैशाखमा पुष्टि भयो । उनी पत्नी र ८ वर्षे छोरासँगै बस्दै आएका थिए ।

जब सुरेशको रिपोर्ट कोभिड–१९ पोजेटिभ आयो र उनी अस्पताल गए, त्यसपछि आफूले छिःछि र दूरदूरको व्यवहार सहनु परेको उनकी पत्नी कल्पनाले बताएकी छिन् ।

शनिबार आमाछोराको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ आएपछि उनले फेसबुकमा लेखेकी छिन्, ‘हाम्राविरुद्ध मेला लगाएर ढोल पिट्दै हिँडे । सत्यनाश बनायो हाम्रो टोल पनि भने । धेरै जान्ने भएर खुब मै हुँ भन्दै पैसा कमाउन हिँडेको थियो नि खाइस् पनि भने । घरका अरू सदस्यलाई पनि फोन गरी–गरी तेरो घर बर्बाद भयो भनेर उचाले । कतिले त यस्तोलाई राख्न हुन्न भन्दै हिँडे ।’

आफ्नो र छोराको रिपोर्ट नआउँदासम्म आफूले भोगेको पीडा सुनाउँदै कल्पनाले अनलाइखबरसँग भनिन्, ‘मान्छेले दुःख परेका बेलामा सहयोग गर्नेभन्दा पनि आत्मबल घटाउने काम गर्दा रहेछन् ।’

कल्पना संक्रमित व्यक्तिका परिवारसँग आग्रह गर्छिन्, ‘आफ्नो आत्मबल बढाउनुस् । मान्छेको कुरा नसुन्नुहोला । जो संक्रमित छन्, उहाँहरूसँग पोजेटिभ कुरा गरेर आत्मबल बढाउने काम गर्नुहोला । उहाँहरूले अवश्य पनि कोरोना जितेर आउनुहुनेछ ।’

घरबेटीले भने आफूहरुमाथि राम्रै व्यवहार गरेको कल्पनाले सुनाइन् । उनका अनुसार आमाछोरासँगै घरबेटीको पनि पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अब उनी श्रीमान छिटो निको हुन् भन्ने कामना गरिरहेकी छिन् र त्यसमा आशावादी पनि छिन् ।

अस्पतालमा रहेका श्रीमानसँग फोनमा सकारात्मक कुराकानी गरेर आत्मबल बढाउन सहयोग गरिरहेकी उनी भन्छिन्, ‘उहाँमा आत्मबल बलियो छ । हामीले पनि आत्मबल थप्ने काम गरिरहेका छौं । कोरोनालाई जितेर आउनुहुन्छ । यसमा म ढुक्क छु ।’

‘संक्रमित भएँ’ भन्दा हातखुट्टै लल्याक–लुलुक भए

कल्पनाका अनुसार सुरेशलाई संक्रमण भएको खबर आउँदा उनीहरू घरमै थिए । जब सुरेशले आफू संक्रमित भएको सुनाए उनी निकै आत्तिएकी थिइन् ।

उनी भन्छिन्, ‘संक्रमितको संख्या बढेको सुन्दा डर लाग्थ्यो र उहाँलाई पनि धेरै बाहिर नजान भन्थेँ । तर, पेसा नै पत्रकारिता भएकाले उहाँ जानुहुन्थ्यो । एकदिन उहाँले कोरोना परीक्षणका लागि स्वाब दिएको छु भन्नुभयो । त्यसको रिजल्ट नआउन्जेल खासै केही भएन ।’

‘वैशाख ३१ गते मेरै अगाडि उहाँले डाक्टर (नारायणी अस्पतालका मेसु)लाई फोन गर्नुभयो । नयाँ संक्रमितबारे सोध्दै हुनुहुन्थ्यो । त्यति बेला म पनि ? भनेर प्रश्न गर्नुभयो । म झसङ्ग भएँ’ उनले भनिन्, ‘उहाँहरूको कुराकानी सकिएपछि मैले के भयो भनेर सोधेँ । उहाँले हाँस्दै मेरो पनि पोजेटिभ आएछ भन्नुभयो । त्यतिञ्जेल मेरो हातखुट्टा काम्न सुरु भइसकेको थियो ।’

‘उहाँले हाँस्दै अस्पताल जानुपर्छ, कपडा प्याक गरिदेऊ भन्नुभयो । मनभरि पीडा सहेर कपडाहरू प्याक गरिदिएँ । तर, राति साढे सात बज्दा पनि अस्पतालबाट गाडी आएन । त्यसैले कोरोना संक्रमण भएको होइन कि झैं लागेको थियो’ कल्पनाले भनिन्, ‘तर गाडी आएपछि भने आफैँले सामान राखिदिएँ । मनमनै उहाँले छिट्टै कोरोनालाई जितेर आउनुहोस् भन्दै भगवानलाई पुकारेँ ।’
यो पनि पढ्नुहोस म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment