+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
148/4 (17.3)
VS
Sudurpaschim won by 6 wickets
जनकपुर बोल्ट्स 2025
145/8 (20)
Shares
प्रकाशचन्द्र परियारसँग वार्ता :

‘विवेकशीलले मतविद्रोह सुरू गरेको थियो, रास्वपाले मतक्रान्ति गर्नेछ’

प्रेमप्रसाद आचार्यको सहादतको जगमा, समाजमा बेथिति देखेर आक्रोशित मानिसहरू जेन्जी विद्रोहमा देखा परे । अब उनीहरुको चाहना र मागलाई हामीले जसरी पनि वैधानिक रुपमा संस्थागत गर्दै अघि बढ्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १४ गते ८:०७

‍काठमाडौं । परम्परागत मूलधारका राजनीतिक दलहरूको एकाधिपत्य अन्त्यसहित सुशासनका लागि भन्दै स्थापित भएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक हुने निर्णयमा पुगेका छन् । दुई दलबीच आज औपचारिक एकीकरण घोषणा हुँदैछ ।  जेनजी विद्रोहपछि पुराना राजनीतिक शक्तिहरूमाथि झन् आक्रोश चुलिइरहेका बेला यी दुई दल मिल्न लागेका छन् ।

यसै सन्दर्भमा विवेकशील साझा पार्टीका संस्थापक समेत रहेका उपाध्यक्ष एवं राजनीतिक वार्ता समितिका संयोजक प्रकाशचन्द्र परियारसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आज एकता हुँदैछ । विवेकशील किन रास्वपामा मिल्ने निर्णयमा पुगेको हो ?

नेपाली जनतामा विकास, समृद्धि र सुशासनको अथवा परम्परागत शक्तिहरूको विकल्पमा जुन किसिमको उत्कट चाहना प्रकट भइरहेको छ । यसलाई केही अघिदेखिकै श्रृंखलाको रुपमा बुझ्नुपर्छ ।

२०७४ सालको चुनावमाविवेकशील साझा पार्टीले एउटा ‘मत विद्रोह’ गर्‍यो । यो परम्परागत शक्तिविरुद्धको मत विद्रोह थियो ।

२०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाकै जगमा ‘मत आन्दोलन’ गर्‍यो । वैकल्पिक राजनीतिको एक दशक लामो जग तयार भएको छ । २०८२ को यो निर्वाचनलाई भने ‘मत क्रान्ति’ को उत्कर्षको रूपमा हेरिँदैछ । यसको अर्थ हो– मत विद्रोह र मत आन्दोलनबाट देश अब मत क्रान्तिमा प्रवेश गर्दैछ ।

२०७४ सालको चुनावमा प्रदेशमा तीन सिटबाट विवेकशील साझा प्रवेश गरेको थियो । २०७९ मा संघमै रास्वपाले २१ सिट ल्यायो । अब बहुमत ल्याउने चरणमा प्रवेश हुँदैछ । मानिसहरूले परिवर्तन मात्र नभएर वैकल्पिक शक्तिको माध्यमबाट ‘पूर्ण परिवर्तन’ खोजेका छन् ।

यसै सन्दर्भमा, जनताले केही वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा आउनुपर्ने आवश्यकता महसुस गरिरहेका छन्, जुन महसुस गरेर हामी एकतामा गएका हौं ।

हामीसँग अहिले विवेकशील साझाको लिगेसी (स्थापित) शक्ति छ ।  इमर्जिङ (उदियमान) शक्तिको रुपमा रास्वपा  छ ।  बालेन शाह र कुलमान घिसिङहरुमा पनि आशा देखिइरहेको छ ।

यी चारवटा शक्तिहरू एक ठाउँमा आएनन् भने परम्परागत शक्तिलाई भत्काउन सकिँदैन भन्ने नेपाली जनताको चाहना छ । यदि पुराना शक्तिहरूलाई भत्काउन सकिएन भने देश पश्चगमनमा मात्र होइन, झन् भ्रष्टाचार बढ्ने, बेथिति हुने छ । नयाँ ऐन–नियम कानुनले वैकल्पिक शक्तिकोकामलाई अवरोध पुर्याउने स्थिति नआओस् भन्ने नेपाली जनताको कामना छ ।

विवेकशील फरक अभियानबाट जन्मेको पार्टी थियो नी ?  रास्वपासँग मिल्नै पर्ने बाध्यता थियो र ?

विवेकशील साझा पार्टीले कतिपय कामको अभ्यास गरेर देखाइदिएको छ । अब विवेकशील साझा मिलेपछि राजनीतिक ध्रुवको केन्द्र रास्वपा हुन्छ । राजनीतिक ध्रुवको केन्द्र हुने जग विवेकशील साझा पार्टीले निर्माण गरेको हो ।

विवेकशील साझा पार्टी स्कुलिङ, आन्दोलन, अभियान र युनिभर्सिटीजस्तै थियो, जसले विचार उत्पादन गर्यो । रास्वपा भनेको अभ्यास गर्ने थलो हो ।

रास्वपाले विवेकशील साझा पार्टीले स्थापित गरेको वैकल्पिक राजनीतिको जगलाई आत्मसात गरेको छ । रास्वपाले नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा हो भनेको छ । नेपालको वैकल्पिक तथा सुसंस्कृत राजनीतिको सुरुवात विवेकशील अभियानबाट भयो भन्ने कुरालाई रास्वपाले स्वीकार्यो ।

विवेकशील साझाले आफ्ना संस्थापक स्वर्गीय उज्ज्वल थापालाई वैकल्पिक राजनीतिको संस्थापक मानिरहेको बेला, रास्वपाले पनि उहाँलाई वैकल्पिक राजनीतिको प्रणेता भनेर आत्मसात गरेको छ ।

यसरी, सैद्धान्तिक, वैचारिक र मूल्यमान्यताको राजनीति गर्छु भनेर आएको अर्को शक्ति (रास्वपा) ले विवेकशील साझाका संस्थापकलाई वैकल्पिक राजनीतिको प्रणेताको रूपमा स्वीकार गर्नुले वैकल्पिक राजनीतिको ध्रुवीकरणमा एउटा ठूलो सकारात्मक सन्देश दिएको छ ।

विवेकशील साझा एउटा छुट्टै स्वतन्त्र अभियान थियो । यसलाई आफ्नो अस्तित्व पनि नरहने गरी रास्वपामा विलय गराइयो भनेर केही टिप्पणी पनि आएका छन् नी ? न नाम, न चुनाव चिह्न कतै पनि विवेकशील साझा देखिन्न त ?

हामीले जसलाई वैकल्पिक राजनीति भनिरहेका थियौँ र हिजो विवेकशील साझा पार्टीले मात्रै मान्यता दिएको र संस्थापक भनिरहेको व्यक्तित्व उज्वल थापाका विचारहरू रास्वपाले आत्मसात् गरेको छ ।

यो एकता विलय नभई वैकल्पिक राजनीतिको सैद्धान्तिक आत्मसाथ हो । रास्वपाले विवेकशील साझा पार्टीका संस्थापक स्वर्गीय उज्वल थापालाई वैकल्पिक राजनीतिका प्रणेता भनेर सम्मानसहित स्वीकार गरेको छ ।

एकीकरणको घोषणामा ‘वैकल्पिक राजनीतिका युवा प्रणेता स्वर्गीय उज्वल थापाले स्थापित गर्नुभएको विवेकशील अभियानले कोरेको राजनीतिक गोरेटोमा आज रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी समेत उभिएको तथ्यलाई हृदयंगम गरी…’ भन्ने शब्द प्रयोग भएको छ ।

यसको अर्थ, रास्वपाले आफूलाई विवेकशील अभियानले बनाएको गोरेटोमा उदाएको शक्तिका रूपमा आत्मसात् गरेको छ । रास्वपाले वैकल्पिक सुसंस्कृत राजनीतिक शक्तिको जग विवेकशील साझा हो भनी स्वीकार गरेको छ । यो कुरा महत्वपूर्ण छ । एकीकरणको मूल मर्म भनेको विवेकशील साझाका मूल्य–मान्यता, अभ्यास र निष्ठाका सबै राम्रा पाटाहरूलाई दस्तावेजीकरण गरेर अगाडि बढ्ने प्रण गर्नु हो । दुवै पक्षले एक–अर्कालाई ‘निकट मित्र शक्ति’ का रूपमा स्वीकार गरेका छन् ।

विवेकशील साझा पार्टी स्कुलिङ, आन्दोलन, अभियान र युनिभर्सिटीजस्तै थियो, जसले विचार उत्पादन गर्यो । रास्वपा भनेको अभ्यास गर्ने थलो हो । अब यो एकीकरण वैकल्पिक राजनीतिको बृहत्तर छाता बनेको छ, जहाँ आफ्नै विश्वविद्यालयका विद्यार्थीले आफ्नै थलोमा अभ्यास गर्न पाउनेछन् । यो एकताले रास्वपालाई वैकल्पिक राजनीतिको लिगेसी प्रदान गरेको छ ।

अहिलेका वैकल्पिक भनेर तपाईंले रास्वपा, विवेकशील साझा, कुलमान र बालेन चारवटा शक्तिको नाम लिनुभयो । रास्वपा र विवेकशील साझा त एक भइसके अब अरु पनि एक ठाउँमा आउने सम्भावना छ ?

वैकल्पिक शक्तिहरू एक ठाउँमा आउने र आउनुपर्ने कारण धेरै छन् । ‘जेन्जी’ आन्दोलनमा विद्रोहको जुन उत्कट चाहना थियो, त्यसको परिपूरण हुन पाएको छैन । देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अनियमितता र अविकास विरुद्धको आक्रोश थियो । त्यसविरुद्ध विद्रोह भयो । विद्रोहमा उठेका माग पुरा गर्नलाई पनि एक ठाउँमा हुँदा मात्र सफल भइन्छ ।

जनतालाई विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, र स्वाधीनताको यात्रा ठूलो शक्तिले मात्र पुरा गर्न सक्छ भन्ने पनि महसुस भएको छ । रास्वपाले संसदमा देखाएको प्रभावशाली प्रदर्शनले राम्रो काम गर्न  धेरै मान्छे नचाहिने रहेछ भन्ने सन्देश त दियो । तर संख्या नभए सरकार बन्न सक्दैन सरकार बनाउन नसकेपछि काम गर्न सकिन्न भन्ने यथार्थ पनि स्पष्ट भयो ।

यसकारण, परम्परागत चार शक्तिहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको साटो नयाँ शक्ति आओस् र नेतृत्व गरोस् भन्ने जनतामा उत्कट चाहना छ । यो चाहना पूरा गर्न सबै पक्ष एक कदम अगाडि र एक कदम पछाडि गर्दै सामूहिक प्रयासमा जुटेका छन् ।

यस नयाँ धार निर्माण गर्ने स्वर्णिम जग चाहिँ जेन्जी विद्रोहले खनेको छ । जेन्जी विद्रोहमा सहादत पनि भयो । विवेकशील साझा पार्टीका इलामका तत्कालीन संयोजक प्रेमप्रसाद आचार्यले मठाधीश शैली, बेथिति, कालाबजारिया र दलपति तन्त्रविरुद्ध केही अघि नै आत्मदाहमार्फत विद्रोह गरिसकेका थिए । उनले आत्मदाहको बाटो रोज्दा नै यहाँ देशमा केही पनि ठीक छैन भन्ने भावनालाई जनतामा गहिरोसँग स्थापित गरेको थियो ।

प्रेमप्रसाद आचार्यको सहादतको जगमा, समाजमा बेथिति देखेर आक्रोशित मानिसहरू जेन्जी विद्रोहमा देखा परे । अब उनीहरुको चाहना र मागलाई हामीले जसरी पनि वैधानिक रुपमा संस्थागत गर्दै अघि बढ्नुपर्ने छ ।

एकीकरणपछि रास्वपाको खास वैचारिक लाइन के हुन्छ ?

पार्टीको वैचारिक लाइन लोकतान्त्रिक गणतन्त्र  हुन्छ । यसको मुख्य ध्येय सुसंस्कृत राजनीति र समतामूलक समृद्धिको महाअभियानका लागि एउटा बृहत्तर वैकल्पिक शक्तिको रूपमा स्थापित हुने हो । पार्टीले आफूलाई परिणाममुखी र निकासमुखी राजनीति गर्ने शक्तिका रूपमा अगाडि बढाउने छ । यसको मूल फोकस समृद्धि, सुशासन, सामाजिक न्याय र स्वाधीनतामा हुनेछ । एकीकृत शक्तिले जनताको विकास र समृद्धिको चाहना पूरा गर्दै, उनीहरूमा आशा, विश्वास र भरोसा जगाउने काम गर्नेछ ।

रास्वपा र विवेकशील साझाको एकतापछि यसले अन्य पार्टीहरूभन्दा कसरी फरक बनाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण छ ।

तपाईंहरूको अरु कुन–कुन पार्टीहरूसँग कुरा भइरहेको छ ? त्यस्ता पार्टी र शक्तिसँग एकताको आधार के हुन्छ ?

अब हुने सबै एकता वैचारिक मूल्य मान्यतामा आधारित हुनेछन्  र ती एकताहरू नयाँ तथा वैकल्पिक शक्तिहरूसँग मात्र हुनेछन् ।

शक्ति बन्नुको अर्थ भीड जम्मा गर्नु मात्र होइन । उदाहरणका लागि, दुर्गा प्रसाईंले पनि मान्छे उतार्छन् र शक्ति प्रदर्शन गर्छन् भनिन्छ । तर उनीसँग त मिल्न सकिन्न नि । विवेकशील साझा पार्टीले पहिले पनि मूल्य मान्यताको राजनीति र वैचारिक स्पष्टताको वकालत गरेको हो । विवेकशील साझा र रास्वपाको एकताले यही वैचारिक स्पष्टताले भएको हो ।

अहिले देखिएमा मध्ये बाबुराम भट्टराई जनार्दन शर्माहरू जस्तो पार्टीसँग पनि नयाँ भनेर मिल्न सकिने सम्भावना छैन । किनकी विगतमा उहाँहरुको जुन राजनीति पृष्ठभूमि छ  । त्यो पृष्ठभूमिमा टेकेर उहाँहरुले दल निर्माण गर्नुभएको छ । हाम्रो मिल्ने अहिले देखिएका शक्तिहरु भनेका कुलमान घिसिङ, बालेन, गोपी हमाल जस्ता व्यक्ति पार्टी र समूह नै हुन् ।

हामी यस्ता शक्तिहरूसँग एकीकरण वा सहकार्यमार्फत बृहत्तर शक्ति निर्माणमा जोड दिन्छौं । यसको अर्थ अरु सबै शत्रु हुन् भन्ने  होइन । राज्यको हितमा, राजकीय जीवन, परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सवालमा भने सबै शक्तिहरू एकै ठाउँमा आउन सक्छन् । यी मामिलामा चाहिँ हाम्रा लागि कोही पनि प्रतिस्पर्धी वा शत्रु छैनन् ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर विगतमा जति पनि शक्ति र पार्टीहरु बने तीनले अलिअलि उपस्थिति देखाउन खोज्ने तर अर्को चुनावसम्म पुग्दा टुटफुट भइहाल्ने उदाहरण पनि छन् । जुन कारण पुरानै पार्टीहरु नै सत्तामा हुने गरेका छन् । यो एकतापछि रास्वपा पनि त्यस्तै नहोला भन्ने के छ र ?

रास्वपा र विवेकशील साझाको एकतापछि यसले अन्य पार्टीहरूभन्दा कसरी फरक बनाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण छ । रास्वपाले छोटो समयमा संसदमा प्रभावकारी भूमिका खेलेर नीति निर्माण र राजकाजमा जुन आशा जगायो, त्यो उसले आफ्नो संख्यात्मक शक्तिको कमीले गर्दा पूर्णरूपमा डेलिभर गर्न सकेन ।

रास्वपा अब राजकीय शक्ति, सुसंस्कृत शक्ति र मूल्य–मान्यता तथा निष्ठाको राजनीति गर्ने शक्तिहरूको एक सम्पूर्ण प्याकेज बनेको छ । विवेकशील साझा पार्टीसँगको एकीकरणले शक्ति मजबुत भएको छ । हामी कुनै पनि टुटफुट होइन अझै फराकिलो बनेर हामीले थालेका परिवर्तनका एजेण्डाहरुलाई पुरा गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?