Comments Add Comment

‘मेरो सरकार’ र ‘यस सरकार’ को नीति कार्यक्रम : केही उस्तै, केही दुरुस्तै !

३ जेठ, काठमाडौं । झण्डै तीन घण्टा लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिन् । देश र सिङ्गै विश्व असामान्य परिस्थितिबाट गुज्रिएका बेला सरकारको नीति-कार्यक्रम कस्तो आउला भन्ने धेरैको चासो थियो ।

शाब्दिक हिसाबले भद्दा र लम्बेतान नीति तथा कार्यक्रम अन्तरवस्तुमा कमजोर देखियो । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख भए पनि त्यसका लागि नवीन कार्ययोजना भने यसमा आएन । साथै, आर्थिक पुनरुत्थान सम्बन्धमा पनि सरकारले गतिलो प्रस्ताव अघि सार्न सकेन।

नीति तथा कार्यक्रमका अवयवहरूबारे समीक्षा हुने नै छन् । यस आलेखमा चाहिँ गत वर्ष र यसपालिको नीति-कार्यक्रमलाई दाँजेर हेर्न प्रयास गरिएको छ । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याउँदा सामान्य परिस्थिति थियो । यसपालि गम्भीर संकटको अवस्था छ । यो संकटबाट पार पाउनका लागि सरकारसँग कुनै जादुको छडी त छैन । तर, ‘आउट अफ दि बक्स’ केही सोच्नुपर्ने थियो, त्यो भएन।

प्रस्तुति र भाषा शैलीको हिसाबले गत वर्ष र यसपालि खासै फरक छैन । विषयवस्तुको कुरा गर्दा निश्चय पनि यसपालि स्वास्थ्य क्षेत्रको बढी चर्चा छ । देशको स्वास्थ्य प्रणालीमा संरचनागत परिवर्तनको कुरा गरिएको छ । कोरोनाविरुद्धको लडाइँमा सरकारले गरेका प्रयासहरूले सार्थक परिणाम दिइरहेको निष्कर्ष निकाल्दै यही रणनीतिलाई निरन्तरता दिइने अभिप्राय प्रकट भएको छ ।

गत वर्ष राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा निकै विवाद उत्पन्न भएको थियो । यसपालि उनले त्यसलाई सच्याएर ‘यस सरकार’ वा यो सरकार’ भनेकी छन् ।

उपलब्धिको चर्चा

गत वर्षको नीति तथा कार्यक्रममा कानुनहरू बनेर संविधान पूर्ण कार्यान्वयनमा आएको, संक्रमणकालको अन्त्य भएर राजनीतिक स्थायित्व कायम भएको, विखण्डनवादी अभियान समाप्त भएको, चीनसँग व्यापार तथा पारवहन प्रोटोकल लगायत ६ वटा महत्त्वपूर्ण सम्झौता भएको, ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भएकोलगायत कुराहरूलाई उपलब्धिको रुपमा बयान गरेको थियो ।

यस वर्षको नीति तथा कार्यक्रममा सरकार गठनपछि मुलुकमा स्थिरता र स्थायित्व कायम भएको तथा संविधान कार्यान्वयनमा आएको कुरालाई दोहोर्‍याइएको छ । अन्य उपलब्धिका रुपमा संघ, प्रदेश र स्थानीय तह क्रियाशील बनेको, चीनका राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको, नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको, कोभिड-१९ नियन्त्रणमा सरकार अहिलेसम्म सफल भएको, बन्दाबन्दीको अवस्थामा पनि अत्यावश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गरिएकोलगायत उल्लेख छन् ।

प्राथमिकता

गत वर्ष सरकारले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दिगो विकास र पर्यावरणीय संरक्षण, शान्ति, सद्भाव, सुव्यवस्था र विधिको शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको थियो ।

यस वर्ष नेपाललाई कोभिड १९ महामारीमुक्त बनाउने अभियानलाई सरकारले पहिलो प्राथमिकताका रुपमा प्रस्तुत गरेको छ । महामारीले राष्ट्रिय जीवनका सबै क्षेत्रमा परेको प्रभावको अध्ययन भइरहेको र यही अध्ययनका आधारमा योजना अघि बढाउने नीति-कार्यक्रममा उल्लेख छ ।

लक्ष्य

गत वर्ष आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने दाबी गरिएको थियो । लगातार तीन वर्षदेखिको आर्थिक वृद्धिदरको उत्साहजनक प्रवृत्तिलाई थप उन्नत बनाउँदै आगामी चार वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो ।

यस वर्ष महामारीका कारण विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरुको आयमा कमी आउने, बेरोजगारी बढ्ने आकलन गरिएको छ । महामारीसँग जुध्नु परिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अभि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालमा अब ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा सरकारले फेरि दोहोर्‍याएको छ ।

केही उस्तै केही दुरुस्तै

गत वर्षको नीति तथा कार्यक्रममा लिइएका अधिकांश लक्ष्य एवं योजना पूरा भएका छैनन् । यसमा सरकारले कोरोना र लकडाउनलाई नै कारणका रुपमा देखाउने छ ।

भैरहवा, पोखरा र निजगढका अन्तर्राष्ट्रिय विमानस्थलहरूको विषयमा सरकारले गत वर्ष र यसपालि राखेको लक्ष्य एउटै छन् । यसैगरी, मेलम्ची खानेपानी, तामाकोशी जलविद्युतलगायत थुप्रै आयोजनाहरूको निर्माण एक वर्ष धकेलिएको छ । सरकारले महत्व दिँदै आएको रेलमार्ग र जलपारवाहनको काम पनि अघि बढेको छैन ।

केही मुख्य आयोजनाहरूका सन्दर्भमा गत वर्ष र यस वर्षको नीति तथा कार्यक्रममा के उल्लेख छ ? तुलना गरौं : 

गत वर्ष : नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको छ । पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ । जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालनमा ल्याइनेछ ।

यस वर्षः नेपालको आफ्नो ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जाने गरी तयारी गरिएको छ । आगामी आर्थिक वर्षदेखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्था गरिनेछ ।

गत वर्षः आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिनेछ

यस वर्ष : आगामी आर्थिक वर्ष साक्षर नेपाल घोषणा गरिनेछ । विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा हुने सुनिश्चित गरिनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ । स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ । आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ । सबै स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

यस वर्षः आगामी तीन वर्षभित्रमा सबै नागरिकमा पुग्नेगरी स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिनेछ ।

गत वर्षः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतका कृषि क्षेत्रका कार्यक्रमहरूको प्रभावकारिता विश्लेषण गरी पुनरावलोकन गरिनेछ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानबाट वास्तविक कृषकहरूले लाभ लिन सक्ने बनाउन हालको अनुदान प्रणालीमा व्यापक सुधार गरिनेछ ।

यस वर्ष : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गरी कृषि क्षेत्रको रुपान्तरणको प्रमुख कार्यक्रमका रुपमा नेपालभर विस्तार गरिनेछ ।

गत वर्षः चीनका समुन्द्री र सुक्खा बन्दरगाह प्रयोग गरी विश्व बजारमा व्यापार विस्तार गर्न थप ढोका खुलेको छ ।

यस वर्षः चीनका चारवटा सामुद्रिक र तीनवटा स्थल बन्दरगाह नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि उपलब्ध भएका छन् । आगामी वर्ष बन्दरगाह सञ्चालन र व्यवस्थापन सम्बन्धी आवश्यक कानुनी व्यवस्था गरिनेछ ।

गत वर्षः निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ ।

यस वर्षः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ ।

गत वर्षः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्यमा तीव्रता दिइनेछ ।

यस वर्षः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनको तयारी गरिनेछ ।

गत वर्षः निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र प्रारम्भ गरिनेछ ।

यस वर्षः निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।

गत वर्षः तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा विमानस्थल निर्माण गरिनेछ ।

यस वर्ष : आगामी आर्थिक वर्ष थप दुईवटा आन्तरिक विमानस्थलको निर्माण गरिनेछ । तेह्रथुमको चुहान डाँडा र काभ्रेमा उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण अघि बढाइनेछ ।

गत वर्षः आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा पुर्‍याइनेछ । निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्न गरी तराईका जिल्लामा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध गराइनेछ । आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा खानेपानी सुविधा पुर्‍याइनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ ।

गत वर्षः यही आर्थिक वर्षको अन्त्यसम्ममा थप ३ सय पुलहरूको निर्माण कार्य सम्पन्न हुनेछ । चार वर्षभित्र सम्पूर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा तीन सय सडक पुलको निर्माण सम्पन्न गरिनेछ । सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिइनेछ।

गत वर्षः काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा रसुवागढी-काठमाडौं रेलमार्ग र वीरगञ्ज-काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक कार्य सुरु गरिनेछ । पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको पूर्व तयारीका कार्य सम्पन्न गरी काँकडभिट्टा इनरुवा खण्डको निर्माण प्रारम्भ गरिनेछ ।

गत वर्षः जयनगर-बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालन गरिनेछ । विजलपुरा-बर्दिबास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ ।

यस वर्षः यसै आर्थिक वर्षभित्र भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने गरी काम भइरहेको छ ।

गत वर्षः काठमाडौं उपत्यकामा आगामी तीन वर्षभित्र सम्पन्न हुने गरी सङ्घीय संसद भवन, राजकीय अतिथि गृह, मन्त्री निवास, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय एवं निवासहरूको निर्माण कार्य सुरु गरिनेछ ।

यस वर्ष : संघीय संसद भवनको निर्माण आगामी तीन वर्षमा सम्पन्न हुनेछ ।

गत वर्षः प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिनेछ ।

यस वर्ष : महामारीका कारण देशभित्र रोजगारीमा संकुचन आउने तथा विदेशबाट पनि नेपालीहरु फर्किन सक्ने भएका कारण बेरोजगारी समस्याको जोखिम छ । उनीहरुलाई कृषि, उद्योग, मझौला व्यवसाय तथा सेवाको क्षेत्रमा रोजगारी दिलाइने छ ।

गत वर्षः पुरातात्विक सम्पदाहरूको संरक्षण हुने गरी पुनर्निर्माणको अधिकांश कार्य आगामी दुई वर्षभित्र पूरा गरिनेछ । भूकम्पबाट क्षतिग्रस्त बाँकी सार्वजनिक संरचनाहरूको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ ।

यस वर्ष : पुनर्निमाणको बाँकी सबै कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्नगरी चार सय ५६ मेगावाट विद्युतराष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिनेछ ।

गत वर्षः बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइनेछ ।

यस वर्षः बाह्य स्रोतसमेत जुटाई बुढीगण्डकी, पश्चिम सेती जलविद्युत आयोजनाहरु अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment