+
+
Shares

गाजाको युद्धभूमिमै छुटेका विपिन

हमासको कब्जाबाट सकुशल रिहाइका लागि सरकारी र गैरसरकारी तबरबाट भरपुर प्रयास भएको थियो । तथापि, विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन ।

केशव सावद केशव सावद
२०८२ असोज २७ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हमासले सन् २०२३ अक्टोबर ७ मा किबुज क्षेत्रमा आक्रमण गर्दा १६ नेपाली विद्यार्थीमध्ये १० को मृत्यु भयो र विपिन जोशी बन्धक बनाइयो।
  • नेपाल सरकारका विभिन्न तहले विपिनको सकुशल रिहाइका लागि इजरायल, कतार, इजिप्ट र संयुक्त राष्ट्रसंघसँग कूटनीतिक पहल गरिरहेका थिए।

२७ असोज, काठमाडौं । प्यालेस्टाइनको मुक्ति र गाजापट्टीमा इस्लामिक राज्य निर्माणको लागि गठित विद्रोही समूह हमास सन् २००७ देखि इजरायलसँग युद्ध लड्दै आएको छ । हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।

५० वर्षअघि ‘योम किपर’ युद्ध सुरु भएको दिन (६ अक्टोबर)को अवसर पारेर प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको थियो । उक्त आक्रमण सुरु गरेको दोस्रो दिन  (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।

आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७) विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका छन् ।

यसबीचमा विपिनलाई प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जाबाट सकुशल रिहाइका लागि नेपाल सरकारका तर्फबाट भरपुर प्रयास भएको थियो । तथापि, विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन ।

विपिन छुटाउने पहल

हमासको आक्रमणमा परेका मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेका थिए ।

तत्कालीन अवस्थाको स्मरण गर्दै उनले ठिक दुई वर्षपछि आइतबार फेसबुकमा लेखेका थिए, ‘त्यस समय घाइते र अन्य नेपाली नागरिकको उद्धार गरी फर्किने क्रममा पनि विपिनलाई साथमा लिएर फर्किन नपाउँदा मन अमिलो र असहज महसुस भएको थियो ।’

नेपाली कांग्रेसका नेता साउदले हमासले बन्धक बनाएका विपिनको रिहाइका लागि आफूले इजरायल, कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिका लगायतका सरोकारवाला निकायहरूसँग सम्पर्क, संवाद र वार्ता गरेको पनि उल्लेख गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सन् २०२३ नोभेम्बर २५ (२०८० मंसिर ९) मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका लागि कतारको मध्यस्थतामा गाजामा युद्धबिराम चलिरहेको समयमा कतारी विदेश राज्यमन्त्री अल-मुरैखी नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

त्यसपछि २२ मंसिरमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले विपिनको परिवारसँग भेट गरेका थिए । कैलालीको धनगढी विमानस्थलमा भएको भेटमा विपिनका आमाबुवाले उद्धारको पहलबारे सोधेका थिए ।

बुबा महानन्द जोशी र आमा पद्मा जोशीले छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।

विपिन बन्धक बनाइएको ४३औँ दिन (२ मंसिर २०८०) मा बुबाआमाले गृहजिल्ला भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री साउदसित कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

त्यसको १७ दिनपछि अर्थात् १९ मंसिरमा साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई परराष्ट्र मन्त्रालयमा बोलाएर विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

तत्कालीन परराष्ट्रमन्त्री साउदले मंसिर ८ मा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनले मंसिर ७ मा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

साउदले सन् २०२३ डिसेम्बर १० देखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा भएका उच्चस्तरीय भेटमा पनि विपिनको रिहाइको विषय उठाएका थिए ।

विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री – Online Khabar

साउदले २२ मंसिर २०८० मा इजरायलका हमास-इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि तदारुकता देखाउन अनुरोध गरेका थिए ।

२५ मंसिरमा साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँगको शिष्टाचार भेटवार्तामा पनि विपिनको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका थिए ।

विपिनको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पनि पहल गरेका थिए । उनले ११ वैशाख २०८१ मा कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि आग्रह गरेका थिए । राष्ट्रपति पौडेलको निमन्त्रणामा उनी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका थिए ।

विपिनका बुवा महानन्द र परिवारका सदस्यहरूले १४ साउन २०८१ मा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका थिए । भेटमा राणाले विपिनको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी थिइन् ।

भेटमा राणाले विपिन हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएकोसमेत बताएकी थिइन् ।

विपिनकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति र संसदका अध्यक्ष – Online Khabar

मन्त्री डा राणाले भनेकी थिइन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ ।’

कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै तत्कालीन मन्त्री राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी पनि दिएकी थिइन् ।

हमास समूहले ३४ जना बन्दीलाई मुक्त गर्न लागेको समाचार सार्वजनिक भएपछि २६ पुस २०८१ मा तत्कालीन परराष्ट्रमन्त्री राणाले हमाससँग मध्यस्थता गरिरहेका कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उनले इजिप्ट सरकारसमक्ष उक्त आग्रह गरेकी थिइन्  ।

राणाले सोही दिन नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

राणाले १ माघ २०८१ मा राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । इजरायल र हमासबीचको शान्तिवार्तामा कतारले मध्यस्थता गरिरहेको थियो ।  विदेश राज्यमन्त्री अल-खुलाइफी एक प्रमुख वार्ताकार थिए ।

विपिनको रिहाइका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत आग्रह गरिरहेकी राणाले १ माघ बेलुकी इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी थिइन् ।

२१ माघमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका थिए । शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

२२ माघमा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँगको टेलिफोन संवादमा विपिनको रिहाइबारे कुराकानी गरेका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राजदूत पण्डितले इजरायलका राष्ट्रपति हर्जोगसँग संवादबारे जानकारी सार्वजनिक गरेको थियो ।

संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरूको उद्धारका लागि सबै प्रयासहरू गरिरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको थियो ।

विपिनको सकुशल रिहाइका लागि विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई पत्र पठाएका थिए । २५ माघ २०८१ मा अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई लेखिएको पत्रमा विपिनको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरिएको थियो ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्द्रपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

विपिन रिहाइका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत २८ फागुनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग संवाद गरेका थिए । संवादका क्रममा उनले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए ।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले गत १ भदौमा विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गराएका थिए ।

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति – Online Khabar

भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाइ विद्यार्थीका रूपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरेकी थिइन् ।

राजदूत पण्डितले पनि राष्ट्रपतिसमक्ष विभिन्न तवरबाट पहल गरेर विपिनको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोसिस भइरहेको जानकारी गराएका थिए ।

त्यसको एक दिनअघि जोशी रिहाइका लागि नेपाली समुदायले इजरायलको राजनधानी तेलअभिभमा प्रदर्शन गरेको थियो । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।

इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्ले-कार्डसहित सहभागी भएका थिए । राजदूत पण्डितले विपिनकी आमा र बहिनीलाई इजरायलका सांसद अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गराएका थिए ।

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति – Online Khabar

इजरायलबाट फर्किएपछि पद्मा र पुष्पाले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटेका थिए । विपिनकी आमा र बहिनीसँगको भेटको दुई दिनपछि राष्ट्रपति पौडेलले जोर्डनका राजा अबदुल्ला द्वितीयसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

गत १० भदौमा राष्ट्रपति पौडेलले जोर्डनका राजालाई पत्र पठाउँदै विपिनको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेलले शीतल निवासमा भएको भेटमा आमा र बहिनीसँग विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

पद्मा र पुष्पाले ५ असोजमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमाले छोराको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरिन् ।

बहिनी पुष्पाले पनि आफ्नो दाइ निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशीघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाइको लागि हरसम्भव प्रयास गर्ने वचन दिइन् ।

प्रधानमन्त्री कार्कीलाई भेटेको तीन दिनपछि ८ असोजमा विपिनको रिहाइका लागि प्रयास गर्न आमा र बहिनी अमेरिका गएका थिए । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उनीहरूको उद्देश्य थियो ।

उनीहरू विदेशमै रहेको बेला सोमबार हमासले युद्धविरामको सहमति पालना गर्दै २० बन्धक रिहा गर्‍यो । रिहा गर्नुअघि इजरायलका सैन्य अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपिन जीवित नरहेको जानकारी गराएका छन् ।

इजरायली अधिकारीहरुले नै यो सूचना दिए पनि परिवारजनले भने अझै आश मारेको छैन । हमासले रिहा गर्ने अन्य व्यक्तिहरू पनि बाँकी रहेकाले अझै आश रहेको उनका दाजु किशोर जोशीले बताएका छन् ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?