Comments Add Comment

संक्रमितको उपचारमा खटिने नर्सको अनुभव : काखको छोरा छोड्दा रुवाबासी, घर फर्कंदा पनि रुवाबासी

४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् ।

पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दर्बन्धी विर्तामोडको दुर्गा माविमा थियो । तर, लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६ वर्षिय छोरीसँग दिन बित्दै थियो । उनका श्रीमान व्यापार व्यवसाय गर्छन् । सासूआमा अवकाशप्राप्त शिक्षिका हुन् ।

संक्रमितको उपचारमा खटिन आग्रह आएपछि उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा खटिइन् । एकसाता संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि उनी घर फर्किइन् ।

दूधे छोरा छाड्दा रुवाबासी, घर पुग्दा पनि रुवाबासी

१० बैशाखमा संक्रमितको उपचारका लागि लिन भन्दै सामाजिक विकास मन्त्रालयले गाडी पठाएको थियो । अढाई वर्षीय छोरा र ६ वर्षीया छोरी छोडेर आउनुपर्दा घरमा रुवाबासी चल्यो । सासूआमा, श्रीमान, छोराछोरी सबै रोए । प्रमिलाका आँखा पनि थामिएनन् । फर्कन पाउदिनँ कि भन्ने चिन्ताले उनी आधाबाटोसम्म रोइन् ।

विराटनगर आएको २३ दिनपछि उनी शुक्रबार उनी घर फर्किइन् । घर फर्कंदा पनि रुवाबासी चल्यो । योपटकको रुवाबासी भने खुसीको थियो ।

बुहारी फर्किएको खुसीयालीमा सासू पार्बती ओझा स्वागत गर्न बसेकी थिइन् । गाडीबाट ओर्लिने बित्तिकै बुहारीलाई अंगालो हालिन् । अबिर र फूलमालाले स्वागत गरिन् । स्वागतमा सगुन (दही) खुवाइन् । स्वागत गरिरहँदा सासूबुहारी नै भक्कानिए । अंगालो हालेर एकछिन सँगै रोए । २३ दिनपछि आमा देख्दा वालक छोराले प्रमिलालाई अंगालो हाल्यो । दूधे बालकको व्यवहारका कारण स्वागतका लागि भेला भएकाहरुको पनि आशु थामिएन ।

‘डर धेरै थियो, म त फर्कन पाउँछु की पाउँदिनँ भनेर जाँदा रुवाबासी चल्यो’ प्रमिलाले भनिन् ‘ अस्पतालबाट फर्कंदा युद्ध जितेर आएजस्तै भयो ।’

 

लकडाउनका कारण घरमै बसिरहेको बेला सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा आउन आग्रह गर्दा उनी एकै बचनमा राजी भइन् ।

‘विरामीको सेवा गर्नु हाम्रो कर्तब्य हो । यो बेला राज्यलाई हाम्रो आवश्यकता छ ।’ उनले भनिन् ‘ छोराको माया लाग्यो, तर आफ्नो कर्तब्य ठूलो सम्झिएँ ।’

उनी अस्पतालमा काम सकिने बितिकै परिवारमा सम्पर्क गर्थिन् । तर, छोराले भिडियो कल गर्दा आमासँग बोल्न मान्दैन थिए ।

संक्रमितलाई देख्दा साहस

उनले १२ बैशाखबाट कोभिड १९ उपचार केन्द्रमा काम सुरु गरिन् । तर, त्रास भने धेरै थियो । डराएका व्यक्तिलाई डाक्टरले डर भगाउन भन्दै प्रमिलालाई संक्रमितको वार्डमा पठाए ।

स्टाफ रुमबाट वार्डसम्म आउँदा उनका हातखुट्टा काँपे, मुटुको चाल बढ्यो । तर, वार्डभित्र बसेका वृद्धलाई देख्दा उनमा काम गर्ने सहास पलायो ।

वार्डमा दमकका ६२ वर्षीय बृद्ध एक्लै थिए । भर्खरै आएका उनी त्रसित थिए । डरले उनका हातकुट्टा काँपिरहेका थिए ।

संक्रमण पुष्टि भएपछि विराटनगर ल्याइएका बृद्ध बोल्न सक्ने अवस्थामा थिएनन् । ‘म जाँदा वृद्ध बुबालाई डरले काँपिरहेको देखें’ उनले भनिन् ‘ बुबाको डर देखेर मलाई सहास आयो, मन दह्रो बनाएर उहाँलाई सम्झाएँ, त्यसपछि बुबाका हात काँप्न कम भए ।’

वृद्धले सन्तोषको सास फेर्दा उनले दूधे बालकलाई बिर्सिइन् । आफू ठूलो काम गर्न आएको महसुस गरिन् । सन्तोषको शास फेरेर वार्डबाट फर्किइन् । त्यसपछि उनले आफूलाई कहिल्यै डराएको महसुस गरिनन् ।

लगातार सात दिन संक्रमितको सेवा गरिन् । १४ दिन क्वारेन्टाइन बसेर कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर फर्किइन् । ‘सुरुमा डर धेरै लाग्यो, उनी भन्छिन् ‘घर छोड्दै गर्दा यो नै अन्तिम भेट हो कि भन्ने डर थियो । यहाँ आएपछि काम गर्दा आनन्द मिल्यो ।’

देशलाई हाम्रो आवश्कता छ

कोरोना महामारीसँग विश्व समुदाय लडिरहेको छ । तर, प्रमिला फ्रन्टलाइनर भएर काम गर्दै घर फर्किइन् । फेरि काम गर्न बोलाए उनी आउन तयार छिन् ।

‘यतिबेला देशलाई हाम्रो जरुरत छ । हामीले काम गर्नुपर्छ’ उनी भन्छिन् ‘ यस्तो बेला सेवा गर्न जो कोहीले चाहेर पनि पाउँदैनन्, हामीलाई काम गर्ने अवसर छ ।’

यो पनि पढ्नुहोस डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment