Comments Add Comment

कांग्रेसको माग : एमसीसी अनुमोदन गरौं, नीति कार्यक्रम पुनर्लेखन गरौं

दुबै सदनमा विभिन्न दलबाट ७ वटा संशोधन प्रस्ताव दर्ता

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ ।

सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गरेको छ ।

शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा संशोधनकर्ताका तर्फबाट डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने भन्दै यसको पुनर्लेखन गरिनुपर्ने कांग्रेसको माग छ ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन माग

यसैबीच शनिबार नयाँ बानेश्वरस्थित संदस भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाना अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन सरकारसँग माग छन् ।

बैठकमा बोल्ने अधिकांश कांग्रेस सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा रहेका कमजोरीबारे औंल्याएका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल हुँदैछ ।

एमसीसी पारित गरियोस् देउवा 

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस एमसीसी संसदको यही अधिवेशनबाट पारित गराउने सरकारको तयारी

शनिबार बसेको संसदीय दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताए ।

दुबै सदनमा ७ वटा संशोधन दर्ता

सरकारले ल्याएको नीति तथा कार्यक्रममा शनिबार साँझसम्म विभिन्न दलबाट ७ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय सभामा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् भने प्रतिनिधि सभामा ५ वटा दर्ता भएका छन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका साथै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि संशोधन हालेका छन् । त्यस्तै राजपा नेपाल र संघीय समाजवादीका सांसदले पनि बेग्लाबेग्लै संशोधन प्रस्ताव दर्ता गरेका छन् । राजपा नेपाल र संघीय समाजवादी मिलेर जनता समाजवादी बनेको भए पनि संसदमा एकताले कानुनी मान्यता पाउन बाँकी रहेका कारण दुबै दलको अस्तित्व छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि संशोधन प्रस्ताव दर्ता गरेको छ । नीति तथा कार्यक्रमले कोरोना महामारीको जोखिमलाई भुलेका कारण अधिकांश बुँदा संशोधन गर्नुपर्ने देखिएकाले संशोधन गर्नुपर्छ भनेका छौं’ कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अनलाइनखबरसँग भने ।

सांसद पन्थसँगै कांग्रेसका सांसदहरु अनिता देवकोटा, जितेन्द्र नारायण देव र रमेशजंग रायमाझीले राष्ट्रिय सभा सचिवालयमा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

राष्ट्रिय सभामा समाजवादी पार्टीकी सांसद प्रमिला यादवले पनि सरकारले प्राथमिकता गुमाएको भन्दै नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।
दर्ता भएका संशोधन प्रस्तावहरुमाथि आइतबारदेखि सदनमा छलफल सुरु हुने छ कार्यसूची छ ।

कांग्रेसकाे विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment