Comments Add Comment

नेकपाको दुई वर्ष : पार्टीको नामबाहेक एउटै भन्ने के छ र ?

३ जेठ, काठमाडौं । तत्कालीन एमाले र माओवादी एकता भएको आज दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । एकता टुंगिएको भनिएको स्थानमा भावनात्मक एकता छैन ।

विचार प्रधानभन्दा संख्या प्रधान हुँदा यस्तो अवस्था आएको नेकपाका नेता–कार्यकर्ताहरु बताउँछन् । कतिपयले आफू शक्तिशाली बन्ने ट्याक्टिकसको रुपमा मात्रै नेताहरुले पार्टी एकतालाई प्रयोग गरेको हो कि भन्ने शंका व्यक्त गरेका छन् । नेकपाको अहिलेको अवस्थालाई उनीहरुले नराम्रो संकेतको रुपमा लिएका छन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएको दुई वर्ष पुगेको सन्दर्भमा यहाँ केही नेताहरुका प्रतिनिधिमूलक धारणा प्रस्तुत गरिएको छ ।

हरि पराजुली, संयोजक, अखिल नेपाल किसान महासंघ

फरक–फरक स्कुलिङबाट आएका कम्युनिस्टहरु एकीकृत भए । विचार सिद्धान्तबाट सबै कुरामा सहमत भएर भन्दा पनि त्यसको तत्कालीन परिस्थितिचाहिँ निर्वाचनमा बहुमत प्राप्त गर्ने र आन्दोलनलाई पुनर्संगठित गर्ने अभिप्राय थियो । जसले गर्दा विचार र सिद्धान्तमा एकरुपता कायम गर्ने महत्वपूर्ण पाटो हो त्यो बाँकी नै थियो । जोसुकै भए पनि हामी एकीकृत भयौं । जे उद्देश्यका साथ एकीकरण गरिएको थियो, त्यसमा सफलता प्राप्त भयो । दुईतिहाइ बहुमतसहितको स्थायी सरकार पनि निर्माण भएको छ ।

यससँगै पार्टी कमिटीका कामहरु एकीकरण गर्दै स्थानीय तहसम्म पुग्नुपर्ने र पार्टी आन्दोलनबाट सम्बन्धित रहेका विभिन्न जनवर्गीय संगठनहरु, पेशागत संगठनहरुलाई एकीकरण गर्ने काम पनि एक हदसम्म सम्पन्न त भयो । तर, स्थानीय तहसम्म पुग्न सकेन ।

यसका कारण के हो भने पार्टीकै एकीकरण विविध कारणले । विविध कारण भनेको विचार र सिद्धान्तमा एकीकरण नभइसकेको अवस्थामा त्यहाँ संख्या प्रभावकारी बन्न पुग्यो । विचार र सिद्धान्तमा एकीकरण भएको भए व्यक्तिभन्दा विचार प्रधान हुन्थ्यो, विचार प्रधान हुँदा संख्या गौण हुन्थ्यो । संख्या प्रधान बन्दाखेरि कतिपय स्थानीय तहमा विवाद उत्पन्न भयो । नेता हुने ठाउँमा त एकीकरण भयो । तर, जहाँ जनतासँग प्रत्यक्ष जोडिएका कार्यकर्ताहरु छन्, त्यहाँ एकीकरण गर्दाखेरि केही समस्या उत्पन्न भयो । ती समस्या समाधान गर्ने भनेर पार्टीले ठोस निर्णय गर्दागर्दै कोरोनाको महामारी आयो । कोरोनाको महामारीले ती सबै कार्यहरु अहिले सम्पन्न हुन सकेनन् ।

समग्रमा भन्दा एकीकरण सफलतापूर्वक अघि बढेको छ । समस्या नीतिगत र भावनात्मक एकतामा छ । विचार र सिद्धान्तमा बहस र पैरवी गर्दै ठोस निष्कर्षमा पुगिसकेपछि नीतिगत रुपमा एकीकृत हुन सकिन्छ । सहकार्यबाट मात्र भावनात्मक रुपले एक भइन्छ । भावनात्मक रुपले एकीकृत भइसकेपछि हामीबीच अन्तरघुलन हुन्छ । जब अलग–अलग स्पिरिटका शक्तिहरुबीच अन्तरघुलन हुन्छ तब मात्र साँचो अर्थमा एकीकरणले सार्थकता पाउँछ ।

कोरोना नआएको भए २०७७ को चैतसम्ममा एकताको महाधिवेशन पनि गरिसकिन्थ्यो । अहिले त्यो सम्भावना छैन । अब केही समय पछि पार्टीभित्र विशेष गरेर बौद्धिक कसरत गर्ने नेता कार्यकर्ताहरुले विचारको रुपमा आफ्ना प्रस्तुती बाहिर ल्याउनु हुन्छ, त्यसले एकअर्काको विचारलाई बुझ्न र नजिक बनाउनका निम्ति सहयोग पुग्छ । मलाई विश्वास छ आउने महाधिवेशनसम्म नीतिगत रुपमा र भावनात्मक रुपमा पनि एकीकृत भएर साँचो अर्थमा एकताको महाधिवेशनको रुपमा अघि बढिन्छ ।

पार्टीको नामबाहेक एउटा भन्ने के छ र ? : दीपशिखा, संयोजक, राष्ट्रिय युवा संघ नेपाल

मलाई एउटा शंका छ, नेताले बुझेको र कार्यकर्ताले बुझेको पार्टी एकता फरक छ कि भन्ने । नेताले पार्टी एकतालाई एकताको रुपमा नबुझिकन शक्ति प्राप्तिका लागि ट्याक्टिसको रुपमा बुझेको हो कि ? त्यसो होइन भने पार्टीको नाम बाहेक एउटा भन्ने चिज के छ ? अध्यक्ष दुईटा छन् । कार्यालय दुईटा छन् । विचार दुईटा छ । कार्यदिशा एउटा भनिएको छ तर दुईवटा छन् । एउटाले मदन भण्डारी विचारधारा मान्छ, पार्टीको लागि जनताको जनवाद हो, अर्कोले बहुदलीय जनवाद मान्छ । भन्नाले एउटा भन्ने चिज पार्टीको नाम नेकपाबाहेक अरु केही पनि छैन । यसरी हेर्दा एउटा बनाउने अग्रसरता नेतृत्वमा देखिएन । त्यसले सन्देह पैदा गर्छ । तर कार्यकर्ताहरुले भने एकताकै रुपमा बुझेका छन् ।

फेसबुकका स्टाटसदेखि लिएर शेयर गर्ने कुरामा पनि आआफ्ना लाइन छन् । राम्रै भए पनि ओलीको शेयर पूर्वमाओवादीवालाले गर्दैनन् र प्रचण्डको शेयर पूर्वएमालेवालाले गर्दैनन् । यसले पनि देखाउँछ पार्टीमा नाम भन्दाबाहेक एउटा भन्ने चिज नै छैन ।

त्यसैले नेतृत्वले ट्याक्टिकल एकताको रुपमा मात्र बुझ्यो कि भन्ने मलाई शंका लाग्छ । यदि त्यसरी बुझिएको हो भने यो भयंकर ठूलो वैचारिक, राजनीतिक स्खलन हो । तर पनि एकता टुंगोमा पु¥याउनुपर्छ । एकताबाट नै बल प्राप्त हुन्छ । यो एकता ढिला हुनु सबैको पछाडि यो शंकाले काम गर्छ ।

दुई वर्षसम्म एकता पूरा नहुनुको जिम्मा दुई जना अध्यक्ष, उपाध्यक्ष र महासचिवले लिनुपर्छ ।

धर्मशिला चापागाईं, सहसंयोजक, प्रतिष्ठान विभाग

कम्युनिस्ट पार्टीहरु टुटफुट र विभाजनबाट गुज्रिरहेको बेला मदन आश्रितको दुर्घटनामा निधन भएको दिनमा तत्कालीन दुई ठूला पार्टी एमाले र माओवादीबीच एकता हुँदा धेरै नेपाली जनता खुसी भएका थिए । त्यतिबेलाको उत्साह निराशामा परिणत हुने हो कि भन्ने शंका छ । किनभने अहिलेसम्म एकता टुंगिन सकेको छैन । कुनै पनि कारणमा आधारमा पनि चाहिन्छ । अहिले त पार्टी एकता केका आधारमा भएको थियोे भन्ने कुरामै शंका उब्जिएको छ । यी सबै आशंका यो पार्टीले, यही पार्टीका शीर्ष नेताहरुले नै निवारण गर्नुपर्छ । अरु विकल्प नै छैन ।

पूर्व एमालेले पनि एउटा बिचार र सिद्धान्त बोकेर हिँडेको थियो, माओवादीको पनि छुट्टै विचार र सिद्धान्त थियो । अब नयाँ आधार के हो ? के हो नयाँ सिद्धान्त ? अबको बाटो के हो ? अबको रणनीति, कार्यनीति के हुने ? नेपालका कम्युनिस्ट पार्टीहरु मिल्न नसक्ने नै हुुन् त ? अब हामीले नयाँ ढंगले बहस गर्नुपर्छ । नेतृत्व भनेको त विचार, दृष्टिकोण, योजना, भावना सबैको केन्द्रीकरण हो । त्यसकारण सबै नेताहरुले यसबारेमा समीक्षा गर्नैपर्छ । पार्टीलाई कसरी अघि बढाउने, कार्यकर्तालाई कसरी सम्बोधन गर्ने, देशलाई समृद्धिको बाटोमा कसरी लैजाने भनेर नेताहरुले सोच्नुपर्छ ।

विनोद श्रेष्ठ, संयोजक, अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)

दुई वर्ष अगाडि जुन उद्देश्यअनुसार पार्टी एकता भएको थियो, त्यो उद्देश्य प्राप्त गर्नका लागि अहिलेसम्म सफल हुन सकेन । व्यवहारमा कार्यान्वयन पक्ष कमजोर भयो । नेता कार्यकर्तामा आफू पदमा रहँदा सबै ठीक, नहुँदा बेठिक भन्ने मानसिकताले सबैतिर घर गर्दा यस्तो अवस्था आयो भन्ने ठान्दछु म ।

तल, माथि सबैतिर यस्तै अवस्था आयो । माथितिर मिलेको भए तल तिर सबै मिलिसक्थ्यो । यदि तलतिर मिलेको भए माथि नेतृत्वलाई दबाब हुन्थ्यो । नेकपा न तल मिल्यो न माथि मिल्यो । सोली जस्तो भयो ।

सदस्य बनाउने, कार्यकर्ता बनाउने भन्दा पनि नेता बनाउने मात्र सोच रह्यो । नेता धेरै भयो, कार्यकर्ता थोरै भयो भन्ने फिल गरेको छु मैले । यो दुई वर्षको दौरान कार्यकर्तामुखी हुनुपर्ने नेतामुखी व्यवहार भयो । एकता टुंगोमा नपुग्नुको कारण पनि त्यही हो ।

नेताहरुले एकीकृत सिद्धान्त र विचारलाई व्यवहारमा हुबहु कार्यान्वयन गर्नुपर्छ । कार्यकर्ताहरुले राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्यो । हिँजो म फलानोतिर थिएँ भनेर उसले गरेका सबै कुरा ठीक, अर्कोले गरेका सबै बेठिक भन्ने कुरा त्याग्नु पर्यो ।

आफ्नालाई मात्र पार्टी सदस्यता दिने काम बन्द गर्नुपर्यो ।

यो राम्रो संकेत होइन : रन्जित तामाङ, सहसंयोजक, अनेरास्ववियू

पार्टी एकता टुंगोमा पुग्यो कि पुगेन भन्ने कुरा ठूलो होइन । बरु जुन उद्देश्य र स्पिरिट अनुसार एकता गरिएको थियो, त्यो अनुसार भयो कि भएन भन्ने कुरा ठूलो हो ।

पार्टी एकता भएदेखि आजको दिनलाई फर्केर हेर्दा, आजको दिनसम्म नाप्दा जुन स्पिरिटमा, जुन उद्देश्यका साथ, जुन दृढ संकल्पका साथ एकता भएको थियो, त्यो अनुसार भएको छैन । अपेक्षाकृत भावनात्मक अन्तरघुलन पार्टीमा देखिँदैन । यो राम्रो संकेत पनि होइन ।

भ्रातृ संगठनहरुको एकता अधुरै छ । विद्यार्थी संगठनको कुरा गर्नु हुन्छ भने केन्द्रीय कमिटीबाहेक अरु कुनै पनि कमिटी बनेका छैनन् । कार्यालय, सचिवालय, जिल्ला, इकाइसम्मै एकता हुन बाँकी छ । जहाँ एकता भएको छ, त्यहाँ पनि मन मिलेको छैन ।

यो पनि पढ्नुहोस नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment