Comments Add Comment

स्वास्थ्य मन्त्रालयको एउटा त्रुटिले शिक्षण अस्पतालदेखि तुलसीपुरसम्म त्रास

३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितबारे सूचना दिँदा पटक-पटक गलत तथ्य सार्वजनिक गर्ने गरेको छ । शुक्रबार पनि मन्त्रालयले गलत सूचना सार्वजनिक गर्दा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जदेखि दाङको तुलसीपुर नगरपालिकासम्म त्रासैत्रास सिर्जना भएको छ ।

साँझ ८ : १५ बजे थपिएका ९ जना संक्रमितमा दाङको गढवा-४, ५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष रहेको मन्त्रालयको सूचनामा उल्लेख छ ।

दाङमा यसअघि कोरोना संक्रमित भेटिएको थिएन । मन्त्रालयका अनुसार एकैपटक तीनजना भेटिए । गढवाका दुईजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । त्यसैले उनीहरूको पहिचान भयो । कन्ट्याक ट्रेसिङ पनि सुरु भयो ।

तर, तुलसीपुरका संक्रमित भेटिएनन् । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका अनुसार त्यहाँ स्वाब संकलन नै गरिएको थिएन । तर, संक्रमित ‘तुलसीपुर-७ का ३४ वर्षीय पुरुष’ भनेकाले स्थानीयमा त्रास फैलियो ।

हालै मात्र शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुबाट आएकी  ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारमा संलग्न डाक्टर, नर्ससहित ३८ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । सोधीखोजी गर्दा थाहा भयो, मन्त्रालयले घोषणा गरेको संक्रमित शिक्षण अस्पतालमा संकलन गरिएको स्वाब परीक्षण गर्दा भेटिएको रहेछ ।

‘तर कन्ट्याक ट्रेसिङ त गर्नुपर्‍यो ? हामीले उनी को हुन् ? हालसालै तुलसीपुर आएका थिए कि थिएनन् भनेर खोजी थाल्यौं’ नगरपालिकाका एक अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयबाट समेत समयमा सही सूचना पाउन सकेनौं ।’

शुक्रबार अबेर पत्ता लाग्यो, तुलसीपुर ७ का एक व्यक्ति शिक्षण अस्पतालमै कार्यरत रहेछन् र उनको पनि स्वाब संकलन गरिएको थियो । संक्रमित घोषणा गरेको पुरुष र उनको उमेर पनि मिलेपछि मेयर पाण्डेले सामाजिक सञ्जालमा लेखे, ‘तुलसीपुर उपमहानगरपालिका-७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’

मेयरको सूचनाका आधारमा अस्पतालको कर्मचारी संक्रमित भएको खबर सञ्चारमाध्यमहरूले बनाए । तर, शनिबार दिउँसो शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘यस अस्पतालका कुनै पनि अस्पतालकर्मी कोभिड-१९ बाट संक्रमित भएको छैन ।’

त्यसोभए संक्रमित को हुन् त ? सञ्चारमाध्यम र तुलसीपुरका मेयरसमेत यसको खोजीमा लागे । त्यसक्रममा थाहा भयो कि मन्त्रालयको सूचना नै गलत भएको छ ।

न संक्रमितको उमेर मिल्यो, न ठेगाना । अस्पताल स्रोतका अनुसार संक्रमित तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का हुन् । उनको उमेर ४६ वर्ष हो र उनी बिरामी कुरुवा हुन् ।

‘स्वास्थ्य मन्त्रालयले भनेको नाम ठेगाना, उमेर केही मिलेन’ तुलसीपुरका मेयर पाण्डे भन्छन्, ‘तुलसीपुर ७ का पुरुषको त रिपोर्ट नेगेटिभ आएको रहेछ । उनी पनि १५/२० दिन अगाडि यहाँ आएर फर्किएका रहेछन् । म त उनको परिवारका सबै सदस्यको आरडीटी टेस्ट गर्न भनेर किट बोकेर गइसकेको थिएँ ।’

कोरोना संक्रमण देखिएका पुरुषसँग पनि आफ्नो कुराकानी भएको बताउँदै पाण्डेले भने, ‘उहाँलाई पनि आज बिहान मात्र थाहा भएछ । अहिले आइसोलेसनमा गइसक्नुभएको छ ।’

सही सूचना नपाउँदा संक्रमितको ट्रेसिङमा कठिनाइ भएको भन्दै मेयर पाण्डेले फेसबुकमै लेखेका छन्, यसतर्फ स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबैको ध्यान जाओस् । सूचनाको स्रोतबाटै नै प्रष्ट नहुँदा धेरैलाई शंका र अप्ठ्यारो भएको छ ।’

तर, स्वास्थ्य मन्त्रालयले गलत सूचना सार्वजनिक गरेको यो पहिलो पटक भने होइन ।

हेर्नुस् मन्त्रालयको सूचना

यसअघि जेठ १ गते मात्र अघिल्लो दिन नै सार्वजनिक गरिसकेका धनुषा, महोत्तरीका कोरोना संक्रमितको तथ्यांक राखेर नयाँ संक्रमित भनेर सार्वजनिक गरेको थियो । बिहान ७ः४५ मा गलत सूचना दिएर १०ः १५ बजे सच्याएको थियो ।

मन्त्रालयले बसोबास गरेको ठाउँमा स्वाब संकलन गर्ने तर संक्रमण पुष्टि भएको घोषणा स्थायी ठेगाना सार्वजनिक गर्दा पनि समस्या हुने गरेको पाइएको छ ।

शनिबार बिहान पनि मन्त्रालयले सर्लाहीको रामनगरकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको भनेर सार्वजनिक गर्‍यो। त्यसअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले संक्रमितको खोजी थाल्यो । तर, संक्रमित युवतीको परिवार लामो समयदेखि काठमाडौंमै बसोबास गर्दै आएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment