Comments Add Comment

कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो

पशुपति आर्यघाटमा अत्येष्टि गरिँदै । तस्वीर सौजन्यः सजना बज्राचार्य

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका-९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाशप्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।

मृतकका एक जना आफन्तले अनलाइनखबरलाई बताएअनुसार त्यसयता टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

टोखामै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । ‘भोलिपल्ट छोरा जन्मियो र २५ गते उहाँ डिस्चार्ज हुनु भएको थियो’, बाह्रबिसे गाउँपालिकाका मेयर निमफुन्जो शेर्पाले अनलाइनखबरसँग भने, ‘डिस्चार्ज भएर उहाँ सिधै गाउँ आउनुभएको थियो ।’

संक्रमणको स्रोत रहस्यमै

लकडाउनका कारण काठमाडौंमा बस्न समस्या हुने भएकाले परिवारले उनलाई गाउँ लगेको थियो । तर, गाउँ गएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बाह्रबिसेस्थित प्राथमिक उपचार केन्द्रमा लगियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै अर्को अस्पताल लैजान भनियो । तर न्वारन गरेर मात्र अस्पताल जाने भन्दै उनीहरू फेरि गाउँ फर्किए ।

तर,  शिक्षण अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण भएको थाहा पाएपछि जनप्रतिनिधि पुगे र उनलाई पनि अस्पताल लैजान आग्रह गरेका थिए । धुलिखेलतिर आउने क्रममा उनको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

घटनापछि बाह्रबिसे नगरपालिका–९, राम्चे र माइती गाउँ बलेफी गाउँपालिका–७ र ९ लाई सिल गरिएको छ । उनी बसेको टोखा नगरपालिकाको क्षेत्रलाई पनि सिल गरिएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

अधिकारीका अनुसार वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्म बाटोमा सिल गरिएको छ । अब उनी सम्पर्कमा गएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । उनी बसेको डेरा नजिकै आफन्तहरू पनि बसोवास गर्ने गरेको र आउजाउ भइरहने गरेको परिवारिक स्रोतले जनायो ।

स्रोतका अनुसार उनको बच्चाको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन भइसकेको छ । यद्यपि रिपोर्ट आइसकेको छैन । उनको जेठा छोरा ११ वर्षका छन् ।

अब उनको सम्पर्कमा आएकाहरूको पनि परीक्षण गरिनेछ । अहिलेसम्म उनलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना देखिएको थियो ।

त्यसैले अस्पतालबाटै उनमा कोरोना संक्रमण भएको हुन सक्ने परिवारले आशंका गरेको छ । तर, अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले भने प्रसूति गृह र संक्रमित बालिकाले उपचार गराएको भवन बेग्लाबेग्लै भएको अनलाइनखबरलाई बताए ।

पशुपति आर्यघाटमा अन्त्येष्टि

पहिलो कारोना संक्रमित उनको शनिबार राति नै पशुपति आर्यघाटमा अत्येष्टि गरिसकिएको छ। पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा उनको अत्येष्टि गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने, एक मिटर परैबाट हेर्नुपर्ने

उनका अनुसार अत्येष्टिमा उनका श्रीमान, स्वास्थ्यकर्मी र सुरक्षा निकायका अधिकृतहरू उपस्थित थिए । नेपाली सेना र प्रहरीको स्कटिङमा उनको शवलाई काठमाडौसम्म ल्याइएको थियो ।

शव ल्याउने क्रममा कोटेश्वरमा देखिएको जाम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment