+
+
Shares

कोरोना संक्रमितलाई मुख्यमन्त्रीको आग्रह : आत्मविश्वास मजबुत बनाउनू

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १७:१९

४ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी नियमित मिडिया ब्रिफिङमा आइतबार मुख्यमन्त्री राउतले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले संक्रमित सबैलाई आत्मविश्वास मजबुत बनाउन आग्रह गरे ।

‘कोरोना संक्रमित भई प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा उपचारको क्रममा रहनुभएका दाजुभाइ तथा दिदीबहिनी हरुको स्वास्थ्य उपचारमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्दै आफ्नो आत्मबल मजबुत बनाइराख्न समेत आग्रह गर्दछु’ उनले भनेका छन् ।

बर्तमान समयमा राजनीतिक आस्था र विश्वास भन्दामाथि उठ्नु सबैका लागि जरुरी भएको बताउँदै उनले आम प्रदेशबासी र सम्पूर्ण सरोकारबालालाई एकजुट भएर कोरोनाबिरुद्व लड्नुपर्ने बताए ।

कोरोनालाई परास्त गर्न लकडाउन र विज्ञको सल्लाहलाई पालना गर्नुको विकल्प नभएको उनले बताए ।

मुख्यमन्त्री राउतले कोरोना रोकथाम र नियन्त्रणमा खटिने व्यक्तिको मृत्यु भए ५० लाख दिने घोषणा गरे । त्यस्तै लकडाउनका कारण समस्यामा परेका गरीब, विपन्न, श्रमिक र किसानलाई दोस्रो चरणको राहत वितरण गर्न लागिएको पनि जानकारी दिए ।

कोरोना जस्ता संकट हाम्रा पुर्खाले पनि विगतमा भोगेको बताउँदै उनले भोलिका दिनमा पक्कै अवस्था सहज हुने विश्वास दिलाए । मुख्यमन्त्री राउतले सबै जिल्लालाई एम्बुलेन्स र शव बाहन समेत प्रदान गरिने बताए ।

हेर्नुहोस् मुख्यमन्त्रीको सम्बोधन

आदरणीय प्रदेशबासी दाजुभाई तथा दिदी बहिनीहरु,

कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको महामारीका कारण अहिले हामी निकै कठिन अवस्थाबाट गुज्रिरहेका छौं । यो महामारीले विश्वलाई नै आक्रान्त बनाएको छ । हरेक हिसाबले समृद्ध भनिएका मुलुकहरु समेत कोरोना संक्रमणका सामु निरिह बनेका छन् ।

नेपालले पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २०७६ साल चैत ११ गते देखि ‘लकडाउन’ कार्यान्वयन गरिरहेको छ ।

यस बीचमा कोरोना संक्रमणका कारण एक जनाको दुखद निधन समेत भइसकेको छ भने पछिल्ला साताहरुमा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । हाम्रो प्रदेश नम्वर २ कोरोना संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको तथ्यलाई पछिल्ला संक्रमितहरुको तथ्याङ्कले नै स्पष्ट पारेको छ ।

भारतसँगको खुला सीमाना तथा उच्च जनघनत्व जस्ता कारणहरुले संक्रमणको जोखिममा रहेको यस प्रदेशमा कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले विभिन्न बिधि र उपाय अवलम्वन गरिरहेको सर्वविदित नै छ ।

नेपाल सरकारले लकडाउन कार्यान्वयन गर्नुभन्दा ६ दिनअगाडि अर्थात २०७६ साल चैत ५ गते कोरोना संक्रमणको संभावनालाई दृष्टिगत गर्दै यस प्रदेश सरकारले प्रदेशका आठ वटै जिल्लाहरुमा रहेका विपद व्यवस्थापन समितिलाई पचास/पचास लाख रुपैयाँका साथै प्रदेश प्रहरी जनपद र सशस्त्रलाई २०/२० लाख तथा अनुसन्धानलाई ५ लाख प्रदान गरेर कोरोना संक्रम नियन्त्रणको पूर्व तयारी सुरु गरेको थियो । त्यस पछि प्रदेश भरिका जिल्ला प्रहरी कार्यालयहरुलाई थप ५/५ लाख समेत उपलब्ध गराइएको छ ।

त्यसैगरी कोरोना महामारी नियन्त्रणको अग्र मोर्चामा खटिने चार वटै सुरक्षा निकायहरुलाई रकम उपलब्ध गराएर पूर्वतयारीको कार्य अगाडि बढाएकै कारण नेपाल सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा धेरै सहजता हुन पुग्यो ।

आदरणीय प्रदेशवासीहरु,

नेपाल सरकारले लक डाउन कार्यान्वयन गरेपछि प्रदेश सरकार कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचार तर्फ केन्द्रित भयो । जस अनुरुप प्रदेशको अस्थाई राजधानी जनकपुर सहित विरगंज र राजविराज जस्ता सहरहरुमा पीसीआर मेसिनसहितको प्रगोगशाला स्थापना गर्ने नीतिगत निर्णय गरियो ।

हाल जनकपुरमा पोर्टेबल पीसीआर तथा वीरगञ्जमा रियल टाइम पीसीआरमार्फत कोरोना संक्रमणको परिक्षण कार्य भइरहेको छ । यहाँको अवस्था र जनसंख्यालाई दृष्टिगतगरी राजबिराज र जनकपुरका लागि थप रियल टाइम पीसीआर खरिद गरेर सञ्चालनमा ल्याउने कार्य अगाडि बढिसकेको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका अभ्यासहरु विश्वका लागि नै नयाँ भएको हुँदा यस प्रदेश सरकारले वरिष्ठ चिकित्सक तथा स्वास्थ्य प्रशासनमा दखल भएका विज्ञहरु सम्मिलित सल्लाहकार समिति गठन गरेर विज्ञहरुको सुझाव अनुसार क्वारेन्टाइन, आइसोलेसन तथा कोभिड १९ बिशेष अस्पताल निर्माण गर्ने लगायतका कार्यहरु अगाडि बढाइयो ।

प्रदेश मातहत रहेका अस्पतालहरुलाई रु ५ करोडदेखि २२ करोडसम्म रकम उपलब्ध गराई अस्पतालहरुको स्तरोन्नति, पूर्वाधार निर्माण लगायतको काम समेत शुरु गरिएको छ । यसका साथै धनुषाको गंगुलीस्थित क्वारेन्टाइनको थप सुदृढिकरण, जलेश्वर, कलैया र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई कोभिड १९ विशेष अस्पतालको रुपमा स्तरोन्नती गर्नेलगायतका कार्यहरु भइसकेका छन् ।

नेपाल सरकारले प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई लेभल २ कोभिड १९ अस्पताल बनाउने घोषणा गरेपछि प्रदेश सरकारले ऐकबद्धता र समन्वय गर्दै ती अस्पतालहरुको व्यवस्थापनमा समेत सहकार्य गरिरहेको छ । त्यसैगरी पर्सा जिल्लाको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पताल र धनुषाको डुमरिया अस्पताललाई स्तरोन्नति गर्ने काम अगाडि बढिसकेको छ ।

आदरणीय प्रदेशवासीहरु

प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज मा १०/१० तथा अन्य जिल्ला अस्पातालहरुमा ५/५ गरी ५० थान भेन्टिलेटरको जडान, प्रत्येक जिल्लामा १/१ थान एम्बुलेन्स तथा शव बाहन उपलब्ध गराउने प्रकियासमेत अगाडि बढेको छ ।

महामारी रोकथाम र नियन्त्रणको यस युद्धको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, सञ्चारकर्मी र उपचार तथा नियन्त्रणमा संलग्न अन्य कर्मचारीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले प्रोत्साहन भत्ताका साथै कर्तव्य पालनको क्रममा कोरोना संक्रमित भई निधन हुन गएमा निजको परिवार लाई ५० लाख राहत उपलब्ध गराउने निर्णय समेत गरेको जानकारी गराउन चाहन्छु ।

लकडाउन कार्यान्वयन पश्चात प्रभावित भएका गरीव, दैनिक मजदुर, कृषि मजदुर तथा किसानहरुको लागि प्रदेश सरकारले कोरोना भाइरस सक्रमण (कोभिड १९) प्रभावित मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण अनुगमन निर्देशिका २०७६ निर्माणगरी चरणबद्ध राहत प्याकेजहरु उपलब्ध गराएको छ ।

जसका लागि महानगर, उपमहानगर, नगर र गाउँपालिका लाई क्रमशः २५, २०, १५ र १० लाख उपलब्ध गराएर राहत सामाग्री वितरण गरिइसकिएको छ भने उद्योग, वन , पर्यटन तथा वातावरण मन्त्रालय मार्फत खाद्य सामग्री खरिद, गरी दोश्रो चरणको राहत वितरणको काम शुरु भइसकेको छ ।

दोस्रो चरणको राहात मार्फत हालसम्म २७ हजार परिवारले राहात प्राप्त गरिसकेका छन् भने कुल ८३ हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी किसानहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले बैंक, वित्तिय संस्था तथा सहकारीबाट किसानहरुले लिएको कृषि ऋणको ४ महिनाको लागि किसानहरुको बर्गीकरण गरी १२ प्रतिशत सम्मको व्याज तिरिदिने निर्णय समेत कार्यान्वयनमा आइसकेको छ ।

आदरणीय प्रदेशबासीहरु

सीमानाकासँग जोडिएका समस्याहरु समाधानका लागि हामीले उच्च सतर्कता र साबधानी अपनाउनु जरुरी छ । सीमामा रोकिएका नागरिकहरुलाई नेपाल भित्र्याउने नीतिगत निर्णय हुना साथै उनीहरुलाई राख्नका लागि प्रदेश सरकारले आठवटै जिल्लाका सीमा नाका नजिकै ३/३ सय बेड क्षमताको क्वारेन्टाइन निर्माणको प्रक्रिया शुरु गरिसकेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले चालेका कदमहरुमा सम्पूर्ण समुदाय र क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौं ।

विशेष स्वास्थ्य उपचारको क्षेत्रका खटिने स्वास्थ्यकर्मीहरुको योगदान अतुलनिय छ, कतिपय अवस्थामा आफ्नो जीवनलाई नै जोखिममा राखेर कार्य गरिरहनुभएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधिहरु र राष्ट्र सेवक कर्मचारीहरुको समपर्ण, लगनशिलता र कतब्र्यपरायणतालाई प्रदेश सरकार उच्च सम्मान गर्दछ । यो संकटको समयमा यहाँहरुले गर्नुभएको अर्थपूर्ण कर्मको उच्च मुल्याङ्कन र सम्वोधन गरिने विश्वास दिलाउन चाहन्छु ।

कोरोना संक्रमित भई प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा उपचारको क्रममा रहनु भएका दाजुभाइ तथा दिदि बहिनी हरुको स्वास्थ्य उपचारमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्दै आफ्नो आत्मबल मजबुत बनाई राख्न समेत आग्रह गर्दछु ।

आदरणीय प्रदेशबासीहरु

अहिले हामीले सामना गरिरहेको कोभिड १९ जस्तै अनेकौं महामारी, संकट र विपत्तीलाई हाम्रा पुर्खाहरुले पनि झेलेका थिए । हरेक अँध्यारोमा उज्यालोको आशा र हरेक संकटमा समाधानका उपायहरु पहिल्याउँदै मानव सभ्यता यहाँसम्म आई पुगेको हो ।

तसर्थ अहिले हामीले झेलिरहेको कष्टपूर्ण अवस्था भोलि सहज अवस्थासम्म पक्कै पुग्ने छ । यसका लागि प्रदेशमा रहनुभएका सम्पूर्ण राजनीतिक दलका नेता कार्यकता, बुद्धिजीव, शिक्षक, शिक्षिका, पेशा, व्यवसायी लगायत सम्पूर्ण प्रदेशबासीहरुको ऐक्यबद्धतापूर्ण सहयोगको अपेक्षा राख्दछु ।

आज हामी राजनीतिक आस्था र विचारभन्दा माथि उठेर कोरोनाले निम्त्याएको संकटको समाधान गर्नु पर्ने अवस्थामा छौं । ‘कोरोना संक्रमणबाट हाम्रो देश र प्रदेशलाई सुरक्षित’ राख्ने अवस्थाको निर्माण नै हामी सवैको साझा लक्ष्य हुनु परेको छ ।

यो प्रदेश सरकार तपाईहरु आम समुदायले नै निर्माण गरेको सरकार हो । आफ्ना समस्याहरुका समाधानको उपाय आफ्नौ क्षेत्र र घर आँगनमा खोज्ने तथा आफ्ना लक्ष्यहरु आफ्नै योजना र योगदानले प्राप्त गर्ने ध्येयका साथ संघीयता कार्यान्वयन भएको हो । संघीयता प्राप्तिको कठोर संघर्षमा हामीले ठुलो बलिदान गरेका छौं । उक्त बलिदानको जगमा उभिएको प्रदेश सरकार सदैव आम प्रदेशबासीहरुको सुख दुखको सहयोगी बन्ने विश्वास दिलाउन चाहान्छु । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार सदैव तपाईहरुसँग सहकार्य गर्ने छ, तपाईहरुको समस्या र जटिलता समाधानमा हरदम तत्पर रहने छ ।

साझा लक्ष्य र एकताले जस्तोसुकै समस्याको पनि समाधान गर्न सकिन्छ । आम प्रदेशबासी र सम्पुर्ण सरोकारवालाहरुले कोरोना संक्रमण नियन्त्रणलाई लिएर साझा लक्ष्य निर्माण गर्दै सहकार्य ग¥यौं भने हामीले आफू र आफ्नो समुदायलाई सुरक्षित राख्न सक्छौं ।

यसका लागि लकडाउनको पालना, ब्यक्तिगत तथा सामुदायिक सरसफाइ र सम्वन्धित विज्ञहरुको सुझावलाई हामीले कुनै पनि हालतमा पालना गर्नैपर्छ । अनुसासित भई बसौं । सामाजिक दुरीलाई कायम राख्दै कोरोना नियन्त्रणका प्रयासहरुमा सहकार्य गरौं भन्दै पुनः प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हरेक कार्य, विधि र उपायहरु अपनाउने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छ ।

धन्यवाद, नमस्कार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?