४ जेठ, विराटनगर । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा संक्रमण पुष्टि गरेको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् ।
यसअघि आइतबार बिहान पनि थप १० जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित सबै रौतहटका हुन् । उनीहरु हालै मात्र भारतबाट नेपाल आएको खुलेको छ ।
यस्तै आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । उनको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले मृत्युको कारण कोरोना भएको बताएको हो ।
आइतबार मात्रै थप १३ जना नयाँ संक्रमित र एकजना मृतकमा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको कूल संख्या २९५ पुगेको छ ।
प्रतिक्रिया 4