Comments Add Comment

भोको पेटले पढाउन सक्दैनौं, ज्याला र भत्ता देऊ : आंशिक प्राध्यापक

९ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंशिक शिक्षकहरूले अध्यापन गराएबापतको ज्याला नपाउँदा दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गरेका छन् ।

त्रिविमा आंशिक रूपमा प्रध्यापनरत शिक्षकहरूको संगठन नेपाल आंशिक प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै आंशिक शिक्षक समस्यामा परेको गुनासो गरेको हो ।

महिनौंदेखि ज्याला रोकिँदा शिक्षकको चुलो निभ्ने अवस्थामा पुगेको भन्दै संघले यसलाई गम्भीरतापूर्वक लिइदिन त्रिवि प्रशासनलाई आग्रह गरेको छ । नियुक्तिपत्र नहुँदा हाजिर गर्न समस्या भएकाले तत्काल उपलब्ध गराउन पनि उसले भनेकाे छ ।

‘कतिपय क्याम्पसहरूले आंशिक शिक्षकहरूलाई शैक्षिक सत्रको सुरुमै दिनुपर्ने नियुक्ति पनि नदिएको, नियुक्तिको अभावमा हाजिरी पनि नभएको र काम गरेको महिनौंसम्म पनि ज्याला (तलब होइन) नपाएको अवस्था छ,’ संघद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बन्दाबन्दीको दुई महिनाबितिसकेको छ । हामी आंशिकसँग रहेको बचत रकम तथा खाद्यान्न सकिएर हाम्रो चुलो निभ्ने अवस्थामा पुगिसकेको छ ।’

पछिल्लो समय मुलुक लकडाउनमा रहे पनि त्रिविले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । संघका अनुसार, त्यस्ता कक्षाहरू आंशिक शिक्षकहरूले लिइरहेका छन् । तर लामो समयदेखिको धैर्यलाई भोकले जितिसकेकाले अब त्यस्तो कक्षा लिन नसकिने अवस्थामा पुगेको उनीहरूले बताएका छन् । ‘हाम्रो समस्या भोको पेटको समस्या हो । तसर्थ अब हामी भोको पेट लिएर कम्प्युटरअगाडि उभिन सर्वथा असमर्थ हुँदै गइरहेका छौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

रोकिएको ज्यालासँगै बन्दाबन्दीको अवधिमा शैक्षिक भत्ता उपलब्ध गराउन पनि संघले माग गरेको छ । अन्यथा सबैखाले शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट अलग रहने चेतावनी उनीहरूले दिएका छन् ।
ज्यालादारीमा काम गरेर आंशिक शिक्षकले देशलाई गुन लगाएको स्मरण गराउँदै संघले आफूहरूको व्यवस्थापन गर्न पनि सरकारसमक्ष माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment