१० जेठ काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको एक मात्र खेलमा हेर्था बर्लिन विजयी भएको छ ।
बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ । गत नोभेम्बरमा भएको सिजनको पहिलो खेलमा युनियनसँग बेहोरेको हारको बदलासमेत हेर्थाले लिएको छ ।
हेर्थाको घरेलु मैदान ओलम्पिया स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टोलीले ४ गोल गरेको हो ।
खेलको ५१औं मिनेटमा वेदाद इबिसेबिकले गोल गर्दै हेर्थालाई अग्रता दिलाएका थिए । त्यस लगत्तै अर्को मिनेटमा डोडी लुकेबाकियोले गोल गर्दै हेर्थाको अग्रता दोब्बर पारे ।
लगातार दुई गोल गरेपछि हेर्थाले लय कायम राख्दै दुई गोल गर्यो । ६१औं मिनेटमा म्याथ्युस चुन्हाले हेर्थाका लागि तेस्रो गोल गरे । यस्तै ७७औं मिनेटमा डेड्रिक बोयाटलले हेर्थाका लागि चौथो गोल गरे ।
बुण्डेसलिगामा सबैभन्दा धेरै खेल्ने क्लब बर्लिन शहरबाटै छ । युनियन बर्लिन पूर्वी बर्लिनबाट बुण्डेसलिगा खेल्ने पहिलो क्लब समेत हो । हेर्था पश्चिम बर्लिनको क्लब हो । त्यसैले पनि यी दुई क्लबबीद्बको खेलको छुट्टै महत्व छ ।
जितपछि हेर्था बर्लिन २७ खेलबाट ३४ अंक जोड्दै दशौं स्थानमा उक्लेको छ । समान खेलबाट ३० अंकसहित युनियन १२औं स्थानमै यथावत छ ।
प्रतिक्रिया 4