
१० जेठ, पोखरा । राजनीतिक परिवर्तनसँगै पोखराको दीपेन्द्र सभागृहको नाम पोखरा सभागृह बन्यो ।
सभागृहबाट राजसंस्थाको लिगेसी त हट्यो तर गणतन्त्र नेपालमा पनि सभागृहको अवस्था भने फेरिएन । लथालिंग, भताभुंग, अस्तव्यस्त अवस्थामै पोखरा सभागृह गुज्रियो ।
यो पोखराको एकमात्र सभागृह हो । स्मार्ट सिटीको नारा लागेको पोखराको सभागृहले भने यहाँको विकास र अवस्थाको झल्को दिन्थ्यो । मान्छे बस्दा खस्ने कर्चि । कतै काठको त प्लास्टिकको कुर्ची पनि भाँचिएका ।
फुङ्ग रङ उडेको, फोहोर, माकुराको जालो लागेको भित्ता । खस्ला/खस्लाजस्तो छत । ह्वास्त गन्हाउने फोहोर चर्पी र घाँस र कुरोले ढाकिएको कम्पाउण्ड । लामो समय पोखरा सभागृहको परिचय यस्तै बन्यो ।
२०४५ सालमा बनेको सभागृहको नाम फेरियो तर स्वरुप फेरिएन । पोखराको प्रत्येक बजेट भाषणले सभागृह सम्झियो तर अवस्था भने जस्ताको तस्तै रहिरह्यो । यस पटकको बजेटमार्फत पोखरा महानगरपालिकाले सभागृहमर्मत सम्भार कार्यलाई अगाडि बढाउनुका साथै दुई सय ५० सिट क्षमताको सेमी हल निर्माण घोषणा गरेको थियो ।
यस्तै, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका समेतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन तीन करोड बजेटले व्यवस्था गरेको थियो । तर, कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्न लकडाउन हुनुअघिसम्म पनि सभागृह मर्मत तथा निर्माणको काम सुरु भएको थिएन ।
सभागृह सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन गर्न ०७० सालमा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टसँग तत्कालीन उपमहानगर र पोखरा उपत्यका नगर विकास समितिसँग त्रिपक्षीय सम्झौता भएको थियो ।
तर, त्यसको विवाद र र विरोध अदालतसम्म पुग्यो । अदालतले पोखरा महानगरपालिकालाई नै सभागृह सञ्चालन गर्न आदेश दियो । तर, सभागृहको अवस्था भने निकै नाजुक र भद्रगोल नै थियो ।
२५ लाख खर्चेर मर्मत
कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्न र सावधानी अपनाउन अहिले देशभर लकडाउन गरिएको छ । कांग्रेसको अवरोधका कारण गण्डकी प्रदेश सभा लडकडाउनभन्दा अगाडि नै पटक पटक स्थगित भएको थियो ।
चैत ६ गतेबाट रोकिएको प्रदेश सभा कोरोना भाइरसका कारण देश लकडाउन भएपछि हिउँदे अधिवेशन अन्त्य हुनै पाएन । मन्त्रिपरिषद्को निर्णयपछि वैशाख २३ गते बल्ल हिउँदे अधिवेशन अन्त्य भएको छ ।
वजेट अधिवेशन सुरु गर्नुपर्ने बेला भइसक्दा पनि कहाँ गर्ने भन्ने निश्चित थिएन । नदीपुरस्थित गण्डकीको संसद भवन कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्ने भएकाले साँघुरो हुने देखियो ।
गण्डकी प्रदेशको संसद चलाउन सबैभन्दा उपयुक्त पोखरा सभागृह नै देखियो । मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयर, सभामुखको छलफलपछि निधो भयो, ‘वैशाख ११ गतेबाट गण्डकी प्रदेशको बजेट अधिवेशन पोखरा सभागृहमा चलाउने ।’
सभागृहमा संसद चदाउने त भनियो तर अस्तव्यस्त थियो । गण्डकी प्रदेश सरकारले बजेट अधिवेशनको पूर्वसन्ध्यामा पोखरा सभागृहको मर्मत सम्भार सुरु गर्यो । आइतबारसम्म जसरी पनि तयार गर्नै पर्ने भएकाले अहिले रातोदिन काम भइरहेको छ ।
सभामुख, मुख्यमन्त्री, दलका नेताका आसन तयार गर्ने, रोस्टमका कुर्ची फेर्ने, रङ लगाउने, शौचालय तयार गर्ने, बत्ती हाल्नेलगायतका काम भइरहेका छन् ।
‘रातदिन लगाएर पनि काम भइरहेको छ । दलको कार्यालय, कार्यव्यवस्था समितिको बैठक स्थललगायतका ठाउँ पनि बनाउने काम भइरहेको छ,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर मरहट्टाले भने, ‘२५ लाखभन्दा बढी मर्मत खर्च लाग्ने देखिएको छ ।’
सभागृहका ४ सय ५० जति कुर्ची फेरिएका छन् । वर्षौंपछि बत्तीहरू नयाँ बल्ने छन् । सभामुखका निम्ति संसद सचिवालयबाटै कुर्ची टेबल ल्याइएको छ ।
यसरी चल्ने छ संसद
गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, चालक र कर्मचारीसमेत गरी दुई सय ६० जनाको स्वास परीक्षण गरी नेगेटिभ नतिजा आएपछि संसद सुरु हुन लागेको हो । कोरोना भाइरसका कारण सावधानीपूर्वक र सामाजिक दुरी कायम गरी संसद चल्ने छ ।
गण्डकी प्रदेशमा ६० जना सांसद छन् । सांसदहरुलाई एउटा ‘रो’ मा बस्ने छन् । तर, दुरी कायम गर्न दुईवटा कुर्सी छाडेर बस्नुपर्ने मिलाइएको छ । सभागृहको माथिल्लो हलमा दर्शकदीर्घाको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए ।
नदीपुरको प्रदेश सभामा जस्तो सांसदका लागि माइकको व्यवस्था हुनेछन् । सत्ता पक्ष र प्रतिपक्षका निम्ति दुईतिर माइकको व्यवस्था मिलाइएको छ । बोल्न समय लिने सांसदले आफ्नोतिरको माइकमा गएर बोल्ने छन् ।
माथिल्लो हलमा भने दर्शकदीर्घाको लागि व्यवस्थित गरिएको छ । दर्शकदीर्घा जाने र सांसदहरू हलभित्र प्रवेश गर्ने ढोका पनि छुट्टाछुट्टै हुनेछन् । सांसदहरूले बजेट अधिवेशनमा टेबल ठटाउन नपाउने भएका छन् । निमित्त सचिव न्यौपानेका अनुसार टेबलको व्यवस्था गरिएको छैन ।
यस पटकदेखि युट्युब लाइभ
कोरोना भाइरसको संक्रमणका कारण दर्शकदीर्घामा ठूलो भिड हुन नदिने विधि अपनाएको छ । बजेट अधिवेशनमा धेरै जनालाई नबोलाउने तर युट्युबमार्फत प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
यसअघि पटक पटक संसद बैठक लाइभ गर्न भनिए पनि प्रदेश सचिवालयले प्रत्यक्ष प्रसारण गर्न सकेको थिएन ।
यसअघि नै अन्य प्रदेशले लाइभ गर्ने व्यवस्था मिलाइसकेको भए पनि कोरोनाको कारण देखाउँदै गण्डकी प्रदेश बल्ल लाइभमा जान लागेको हो ।
तस्वीर : युनिस गुरुङ/अनलाइनखबर
प्रतिक्रिया 4