Comments Add Comment

सांसदले सुरक्षा मापदण्ड नअपनाएको गुनासो

११ जेठ, काठमाडौं । कोरोना संक्रमण नभएको पुष्टि भएपछि संसद बैठकमा सहभागी हुँदै आएका सांसदले नियम पालना नगरेको गुनासो कतिपय सांसदहरूले नै गरेका छन् ।

सांसदहरू कोरोना संक्रमितलाई भेट्न जाने, जिल्लाबाहिर जाने जस्ता गतिविधि गर्न थालेको भन्दै आइतबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा केही सांसदहरूले गुनासो गरेका छन् ।

बैठकले सांसदहरूलाई सेल्फ आइसोलेसनमा बस्न सम्बन्धित दलको संसदीय दलमार्फत आग्रह गर्ने निर्णय पनि गरेको छ ।

समिति बैठकमा प्रमुख विपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले सांसदले नियम पालना नगरी अरूलाई नियम पालना गर भन्न नसकिने भन्दै उनले ‘सत्तारुढ दलका सांसदहरूले सेल्फ आइसोलेनको नियम पालना गरेका छन् ?,’ भनी प्रश्न गरिन् ।

नेकपाकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका सांसदहरूले नियम पालना नगरेको जानकारी नभएको बताएकी थिइन् । बरू उनले सांसदहरूलाई घरबेटीले ‘कोरोना सर्न सक्ने खतरा बढ्यो भन्दै गाली गर्न थालेको गुनासो आएको उल्लेख गरिन् ।

नेकपाका सांसद खगराज अधिकारीले ‘सांसदहरू छाडा हुँदा कोरोनाको डर बढेको उल्लेख गर्दै छाडा भएका सांसदलाई सम्झाउनुपर्ने, सांसदहरूलाई छाडा हुन दिन नहुने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले नै नियम पालना नगरेको सन्देश जान दिन नहुने बताए । ‘सांसदहरूले नै नियम पालना गरेनन् भन्दा राम्रो सन्देश जाँदैन । यसतर्फ ख्याल गरौं, सांसदहरूलाई सचेत रहन, आत्मानुशासन पालना गर्न भनौं’ बैठकमा उनले भने ।

बैठकमा केहीले सबै सांसदलाई सेल्फ आइसोलेनको नियम पालना गर्न आग्रह गर्दै सूचना पठाउनुपर्ने बताएका थिए । तर, यसअघि सूचना पठाइएको र केहीले मात्रै उल्लङ‍्घन गरेको भन्ने आएका कारण संसदीय दलमार्फत नै जानकारी गराउँदा उचित हुने बैठकले निष्कर्ष निकालेको छ ।

यसअघि, संसद सचिवालय र राजनीतिक दलहरूले पनि सांसदलाई सेल्फ आइसोलेसनको नियम पालना गर्न र राजधानी नछोड्न आग्रह गरेका थिए । यसका लागि मोबाइलमा सूचनासमेत पठाएको थियो ।

संसद सचिवालयले पनि आचारसंहिता नै जारी गरेर सांसदहरूलाई कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन भनेको थियो । सचिवालयले जारी गरेको आचारसंहितामा संसद बैठक अवधिभर घरमा गई स्वयं एकान्तवासको नियम सांसदहरूले अनिवार्य पालना गर्नुपर्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment